बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

  २०७८ माघ ६ गते १२:१०     विकासन्युज

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो ।

अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब सङ्कलन गरेर परीक्षण गर्नसक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाइ छ । सो अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो ।

जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.