सरकारले छुट दिएपछि ४० हजार कम्पनी नवीकरण, ९५ करोड राजश्व संकलन

  २०७८ माघ ५ गते १३:२६     विकासन्युज

काठमाडौं । सरकारले लामो समयसम्म नवीकरण नभएका कम्पनी नवीकरणमा छुुट दिएसँगै ४० हजार बढी कम्पनी नवीकरण भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसागै ४० वर्ष पुराना कम्पनीले समेत विवरण अद्यावधिक गरेका हुन ।

सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक बर्ष २०७५/०७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले सम्वत् २०७८ साल पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिएको थियो ।

सोही व्यवस्था अनुसार विदेशमा रहेका कम्पनीका सञ्चालकले समेत नेपालमा आएर छुटमा कम्पनी विवरण अद्यावधिक गरेको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार प्रदिपराज अधिकारी सरकारले दिएको छुटमा धेरै पुरानो कम्पनीहरु नवीकरण गर्न आएका थिए । नवीकरण गर्न आउने अधिकाशं कम्पनीका सञ्चालक विदेश भएका, कम्पनीको नाममा धेरै जग्गा रहेको र ठूलो रकम जरिवाना भएका अधिकाशं कम्पनीहरु नवीकरण भएका छन् ।

उनले वि.स २०२० सालदेखि नवीकरण नभएका कम्पनीहरु छुटमा कम्पनी नवीकरण गर्न आएको जानकारी दिए ।

६ महिनाको अवधिमा नवीकरण भएका ४० हजार कम्पनीबाट सरकारले ९५ करोड राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा नयाँ कम्पनी दर्ता तथा नवीकरणबाट ९८ करोड राजश्व संकलन भएको थियो । गत वर्षको तुलनामा चालु आवको पहिलो ६ महिनामा नै बराबरी राजश्व संकलन भएको कम्पनीले जनाएको छ ।

कम्पनी ऐनमा तोकिएको म्यादभित्र विवरण, सूचना–जानकारी वा जवाफ उपलब्ध नगराउँदा प्रत्येक वर्ष ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको छ । ऐनले कम्पनीको चुक्ता पुँजी र विवरण नबुझाएको समयावधिअनुसार जरिवानाको व्यवस्था गरेको छ ।

ऐनको दफा १३६ मा लगातार ३ वर्षसम्म कम्पनीहरूले वार्षिक आर्थिक विवरण, सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन वार्षिक साधारणसभाबाट पास भएको ३० दिनभित्र रजिस्ट्रारको कार्यालयमा नबुझाएमा वा विवरण नबुझाएबापत तिर्नुपर्ने जरिवाना नतिरेमा कम्पनी खारेज गर्ने व्यवस्था छ । तर रजिस्ट्रारको कार्यालय कम्पनीको खारेज नगर्दा धेरै कम्पनीहरूले लामो समयदेखि जरिवाना रकम तिरेका थिएनन ।

१६ हजार कम्पनी दर्ता

कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) १६ हजार बढी नयाँ कम्पनी दर्ता तथा नवीकरण भएका छन् ।

पछिल्लो समय सरकारले पुरानो कम्पनी नवीकरणमा छुट दिएसँगै उद्योग दर्ता तथा नवीकरणमा बृद्धि भएकोे छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १५ हजार कम्पनी दर्ता भएका थिए ।

‘यसअघि हामीले तोकिएको समय सकिन लागेपछि छुटमा कम्पनी नवीकरण गर्न आएकालाई प्राथमिकता दिएका थियौँ, छुटमा कम्पनी नवीकरण सकिएपछि नयाँ कम्पनी दर्तामा बृद्धि हुन थालेका छन् । नयाँ कम्पनी दर्ताका लागि कार्यालयमा दैनिक २ सय जनाले आवेदन दिने गरेका छन्’, उनले भने, ‘यसअघि हामीले नयाँ उद्योग दर्तामा केही ढिलाइ गरेका थियौँ । माघ लागेपछि नयाँ उद्योग दर्तामा बृद्धि हुने हामीले अनुमान गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.