तरलताको अभावमै घरजग्गा कारोबारमा उछाल, साढे १ लाख घरजग्गा किनबेच हुँदा पौने ७ अर्ब राजश्व उठ्यो

  २०७८ माघ ३ गते १२:०६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव भएपनि घरजग्गा कारोबारमा भने उछाल भएको हो ।

तरलताको कारण कात्तिक महिनामा केही सुस्त भएको घरजग्गा कारोबार मंसिर र पुस महिनामा आएर पुनः उछाल देखिएको हो ।

भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा १ लाख ५७ हजार १२७ वटा घरजग्गा खरिदबिक्री भएका छन् । विभागले पुस महिनामा ७० हजार १६८ लिखित पारित, ५ हजार ५५३ नामसारी, ४३ हजार ५३ घरजग्गा रोक्का र २३ हजार २ फुकुवा भएका छन् ।

गत मंसिर महनिामा ६९ हजार ४१२ लिखत पारित भएको विभागको भनाई छ । मंसिरमा ४१ हजार ७० घरजग्गा रोक्का भएका थिए भने २७ हजार ८५० घरजग्गा फुकुवा भएका थिए ।

पुस महिनामा सबैभन्दा बढी घरजग्गा कारोबार भूमी सुधार तथा मालपोत कार्यालय इनुरुवान सुनसरीले गरेको छ । यस कार्यालयले पुसमा ६ हजार २५७ घरजग्गा कारोबार गरेको छ ।

६ अर्ब ७० करोड राजश्व

पुस महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब ७० करोड ४२ लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । यद्यपि यो गत मंसिर महिनाको तुलनामा कम हो ।

मंसिरमा घरजग्गा कारोबारबाट कुल ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो निर्माणको सिजन भएकोले पनि घरजग्गा कारोबार बढेको हुन सक्ने जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.