सय जना बढीमा कोरोनादेखिएपछि राष्ट्र बैंकले थाल्यो ‘वर्क फ्रम होम,’ बैंकहरुको सेवा पनि प्रभावित

  २०७८ माघ ३ गते ११:०७     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’काे नीति अवलम्बन गरेको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले आइतबारदेखि ‘वर्क फ्रम होम’ को सेवा सुरु गरेको बताए । उनका अनुसार राष्ट्र बैंकका १ सयभन्दा बढी कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि घरबाटै काम गर्ने सुविधा दिएको हो ।

‘हामीले गत वर्ष नै वर्क फ्रम होमको नीति ल्याएका थियौं, बैंकहरुले पनि वर्क फ्रम होमकै सेवा सुरु गर्न सक्छन्, कोरोनाका कारण बैंकिङ सेवा पनि प्रभावित भएको छ,’ उनले भने ।

राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन भनिसकेको छ । राष्ट्र बैंकले गत सोमबार एक सूचना जारी गर्दै बैंकबाट इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोेग गरी निर्देशन जारी गरेको थियो ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोमिखलाई न्यूूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने, सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने निर्देशन दिएको हो ।

यस्तैगरी, बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैंठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पनि कोभिड–१९ संक्रमण बढ्न थालेपछि बैंकिङ सेवा प्रभावित भएको हो । अहिले धेरै बैंकहरुले आफ्ना कर्मचारीलाई सुरक्षित रहनु भनेर परिपत्र गरिसकेको छ ।

नबिल बैंकले कोरोना बढेको भन्दै विभिन्न शाखाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । बैंकले न्यूरोड, पुल्चोक, भैंसेपाटी, अनामनगर र हेटौंडाको शाखा आज बन्द हुने जनाएको छ । बाँकी शाखाहारु १० बजेदेखि ३ बजेसम्म मात्र खुल्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.