नाफामा पनि अब्बल बन्दै सहकारी बैंक, सेयर सदस्यको खातामा पठायो १५ प्रतिशत लाभांश

  २०७८ पुष ३० गते १८:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको हो ।

बैंकको १८ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खातामा पठाएको हो ।

साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । ‘बैंकको आज (शुक्रबार) साधारणसभा सकिँदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौं,’ उप्रेतीले भने ।

बैंकले यस पटकको साधारणसभा भौतिक उपस्थितिका विच एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार सम्पन्न भएको र शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।

बैंकले गत आर्थिक वर्ष ०७७÷०७८ मा ३९ करोड ९५ लाख रुपैया लाभाशं वितरण गरेको हो । सहकारी बैंकले विगत ४ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । सहकारीहरुमा वित्तीय साक्षरता, पहुँच तथा सहकारीहरुको हकहितसँगै नाफा गर्नमा पनि राष्ट्रिय सहकारी बैंक अब्बल बन्दै गएको छ ।

बैंकले वितरण गरेको लाभांशमा संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरिएको पनि जनाएको छ । बैंकले शुक्रवार नै एक विज्ञप्ती जारी गरी बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ ।

संरक्षित पूँजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.