निःशुल्क सेवा दिन ४ वटा विद्युतीय बस किन्दै ललितपुर महानगर

  २०७८ पुष ३० गते १३:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा नेपालमा विद्युतीय बस किन्ने क्रम बढ्दो छ । ललितपुर महानगरपालिकाले पनि ४ ओटा विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले साझा यातायातसँग सम्झौता गरी उक्त बस सञ्चालन गर्ने भएको हो ।

महानगरले उक्त बस खरिद गर्नको करिब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

मेयर महर्जनका अनुसार पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले उक्त बसबाट निःशुल्क सेवा लिन पाउने छन् । बस खरिद तथा बसको व्यवस्थापन साझा यातायातले गर्छ भने लगानी महानगरले गर्ने भएको छ ।

‘गत आर्थिक वर्षमा पनि महानगरले विद्युतीय बस किन्नको लागि बजेट विनियोजन गरेको थियो, किनिएका बस आउँदै छन्, चालु आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्ने भनेर बजेटको व्यवस्था गरेका हौं,’ मेयर महर्जनले भने ।

बस सेवा महानगरपालिकाभित्र संचालन हुनेछ ।

डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै जाने नीतिअनुरूप महानगरले विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो ।

‘पहिलो चरणमा चारवटा बस सञ्चालन गर्छौं, त्यसको प्रभावकारिता हेरेर थप ४ वटा बसहरू पनि थप्ने योजना छ, महर्जनले भने ।

सवारीका चापका कारण उपत्यका भित्र प्रदूषण पनि बढ्दो छ । विद्युतीय बस सञ्चालन गर्दा ऊर्जाको खपत साथै पेट्रोलको प्रयोग कम हुँदै जान्छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिएको छ । यसैकारण आफूहरुले विद्युतीय बस संचालनकमा जोड दिएको मेयर महर्जनले बताए ।

२३ लाख रुपैयाँ पर्ने बस

महानगरसँग सहकार्य गरी खरिद गर्न लागेको एक वटा विद्युतीय बसको मूल्य करिब २३ लाख रुपैयाँ पर्ने साझा यातायातका सञ्चालक समितिका सदस्य भूषण तुलाधरले बताए । उक्त बस खरिद गर्नको लागि टेन्डर भइसकेको छ ।

सदस्य तुलाधरका अनुसार उक्त बस ३ महिनाभित्र आइपुग्छ ।

‘बस कस्तो खालको आउँछ, त्यसअनुसार चार्जिङ स्टेसन निर्माण गर्छाैं, अलिे त्यसको डिजाइनहरू बनिरहेको छ, चार्जिङ स्टेसन निर्माणका लागि विद्युत् प्राधिकरणसँग छलफलमा छौं,’ उनले भने ।

बस खरिद गरेपछि केही महिनापछि नै सञ्चालन हुनेछ । महानगरपालिकाले बस खरिद गर्नको लागि डेढ करोड रुपैयाँ बजेट साझा यातायातलाई दिइसकेको तुलाधरले जानकारी दिए ।

४० थान विद्युतीय बस खरिद गर्दै साझा यातायात

साझा यातायातले ४० वटा विद्युतीय बस खरिद गर्ने भएको छ । साझाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको ३ अर्ब रुपैयाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गर्दैछ ।

विद्युतीय बस खरिदको तयारी स्वरुप साझाले गत चैत १३ गते शुक्रबार ग्लोबल टेन्डर आह्वान गरेको थियो । साझाले ८ महिनाभित्र ४० वटै बस ल्याउने गरी चिनियाँ कम्पनी सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेसनलाई जिम्मा दिएर पूर्ण तयारी गरेको हो ।

एक महिनामा प्रस्तावको मूल्यांकन सकेर अबको दुई महिना भित्रमा विद्युतीय बस खरिदको सम्झौता गर्ने तयारी साझेको छ । यस्तै प्रस्तावको मूल्यांकन सकिएको ६ महिनाभित्रमा काठमाडौं उपत्यकामा पहिलो चरणमा ४० वटा विद्युतीय बस गुड्ने अनुमान गरिएको छ ।

यसघि मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो । खरिद प्रक्रिया रोकेर साझालाई दिएको रकम फिर्ता लगेको सरकारले पुनः २०७७ फागुनमा साझालाई नै बस खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो ।

यसअघि नै सरकारले साझालाई ३ सय थान विद्युतीय बस खरिद गर्न ३ अर्ब रुपैयाँ दिएको थियो । उक्त रकम मध्येबाट पहिलो चरणमा ४० थान विद्युतीय बस खरिद गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.