२०७८ पुष ३० गते १२:२५ विकासन्युज
काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघेसंक्रान्तिका लागि साढे १८ सय टन कन्दमुल भित्रिएको छ । पुस महिनामा मात्रै माघेसंक्रान्तिमा उपभोग हुने कन्दमुल (तरुल, सखरखण्ड र पिँडालु) १८ सय ४२ टन कालीमाटी तरकारी बजारमा भित्रिएको हो ।
गत वर्षको तुलनामा यस वर्ष कन्दमुलको आयात बढी भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार माघेसंक्रान्तिका लागि गत वर्षको पुस महिनामा १५८१ टन कन्दमुल तरकारी बजारमा भित्रिएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस वर्ष १८ सय ४२ टन कन्दमुल मध्ये १३ सय १९ टन तरुल भित्रिएको छ । भित्रिएको तरुलमध्ये ९० प्रतिशत स्वदेशी र बाँकी १० प्रतिशत भारतबाट आयात भएको छ ।
यस्तै, २९६ टन पिँडालु र २२६ टन सखरखण्ड कालीमाटी बजारमा भित्रिएको छ । भित्रिएको पिँडालु सबै स्वदेशी र ५१ प्रतिशतभन्दा बढी सखरखण्ड भारतबाट आयात गरिएको हो । तथ्यांक अनुसार पिँडालुमा देश आत्मनिर्भर भएतापनि तरुल र सखरखण्डामा देश अझै आत्मभिर्नर हुन सकेको छैन् ।
सूचना अधिकारी श्रेष्ठका अनुसार अन्य वर्षको तुलनमा यस वर्ष पनि स्वेदशी पिँडालुनै कालीमाटी भित्रिएको छ । पिँडालुमा देश आत्मनिर्भर भएतापनि केही मात्रामा तरुल र पूर्ण रुपमा सखरखण्डका लागि नेपाल भारतमै निर्भर हुनुपरेको छ ।
‘केही वर्ष अगाडीसम्म काठमाडौं उपत्यकामा भित्रिएका तरकारीहरु कालीमाटी तरकारी बजारमा आएपछि मात्र अन्य बजारमा पठाइन्थ्यो, तर अहिले सबै बजारमा जाने हुँदा कन्दमुलको आयात बढेको होला, अन्य बजारको तुलनामा कालीमाटीमा नै धेरै आयात हुने हुँदा हामीले आयात बढेको भन्ने गरेका हौं, उनले भने ।
उनका अनुसार बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली लगायतका जिल्लामा मुख्त तरुल/पिँडालु उत्पादन हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत वर्षको तुलनामा मूल्य सामान्य घटेको छ ।
गत वर्ष यहीं समयमा प्रतिकिलो ५९.२८ रुपैयाँ पर्ने तरुल अहिले प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको छ । गत वर्ष प्रतिकिलो ५१.१६ रुपैयाँ पर्ने पिँडालु घटेर ४५ र सखरखण्ड ६९.४३ रुपैयाँबाट घटेर ६५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । यद्यपि, माग बढ्न थालेपछि मूल्य थप बढ्न सक्ने समितिले जनाएको छ ।
काठमाडौं उपत्यकामा तरकारी माग मध्ये कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ भने बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ । यस वर्षको माघेसंक्रान्तिमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड बढीको कन्दमुलको कारोबार हुने अनुमान व्यवसायीले गरेका छन् ।
Copyright © 2022 Bikash Media Pvt. Ltd.