एनबिलाई गाभेपनि नबिलले हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्टलाई नटप्ने, २२ अर्ब पूँजीसहित दाेस्रो ठूलो बैंक

  २०७८ पुष ३० गते १०:४३     विकासन्युज

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुवै बैंकको सञ्चालक समितिको बैठकले उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेको हो ।

सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने एनबी बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । उक्त समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । सो प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकमा सबै सुचकांकहरुमा अग्रणी हुने विश्वास बैंककाे छ ।

बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । तर,  नेपाल बंगलादेश बैंकलाई गाभेपनि पूँजी लगायतका परिसूचकमा अझै पनि  नबिल बैंक वाणिज्य बैंकहरुमा दोस्रो ठूलो बैंक बन्ने देखिएकाे छ ।

नबिल बैंकले मर्जरपछि बैंकको पूँजी २२ अर्ब ५ करोड रुपैयाँ हुने उल्लेख गरेको छ । यता हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको पुँजी मर्जरको सम्झौता गर्दा नै २६ अर्ब ९४ करोड रुपैयाँ थियो । बोनस सेयरपछि दुई बैंकको चुक्ता पूँजी अझै बढ्नेछ । पूँजी, कर्जा तथा निक्षेप लगायत परिसूचकमा हिममालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि देखिनेछ ।

नबिलले एनबीलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२ अर्ब ५ करोड, कर्जा रकम ३ खर्ब, निक्षेप रकम ३ खर्ब १४ अर्ब रुपैयाँ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार १ खर्ब ३० अर्ब रुपैयाँ माथी हुने बैंकले जनाएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् भने ग्राहक संख्या १६ लाख माथी हुनेछ ।

नबिल र एनबी बैंक दुबैले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम पुस २९ गते सम्झौता भएको हो ।

यता हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरको अन्तिम तयारीमा छन् । दुवै बैंकले साधारणसभामा मर्जरको विशेष प्रस्ताव पेश गर्दैछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ भने हिमालयन बैंकको साधारणसभा आज (पुस ३० गते) हुँदैछ । दुवै बैंककाे स्वाप रेसियाे १:१ तय भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.