९५ प्रतिशत हवाइ यात्रुले खाेप लगाएकाे बुद्ध एयरकाे दावी

  २०७८ पुष २९ गते १३:३२     विकासन्युज

काठमाडाैं । ९५ प्रतिशत हवाइ यात्रुले काेराेना भाइरसविरुद्धकाे खाेप लगाएकाे बुद्ध एयरले दावी गरेकाे छ ।

बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाईसकेका पाइएका हाे । बुद्धले १८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा १७९३ जना यात्रुहरुले खोप लगाईसकेकाे पाइएकाे थियाे ।

बुद्ध एयरका पनि सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताएका छन् ।

‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन । हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं । तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले भने ।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोनाविरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो । बस्नेतकाे अनुसार बुद्धले सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो । त्यस्तै संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए । उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य बनाएको पनि बताए ।

हवाई उडान संक्रमणरहित भएको विभिन्न अध्ययनबाट पनि पुष्टि भइसकेकाे बस्नेतले बताए । बस्नेतकाे अनुसार एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको कारण हावाको वहाव संक्रमणरहित हुने गर्छ ।

प्रबन्ध निर्देशक बस्नेतले बुद्ध एयरमा यात्रा गर्ने यात्रुले ढुक्क भएर यात्रा गर्न पाउने पनि दाबी गरेका छन् । ‘हाम्रो उडान संक्रमणरहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ’, उनले भने । त्यसैगरि यात्रुहरुले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्न उत्तिकै अनिवार्य रहेको बस्नेतले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.