२० वर्ष पुग्दा पनि ९६ प्रतिशत मात्रै सकियो धोबिखोला करिडोर निर्माण

  २०७८ पुष २९ गते ९:२२     विकासन्युज

काठमाडौं । धोबिखोला करिडोरको काम ९६ प्रतिशत सकिएको छ । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबिखोला करिडोरको निर्माण कार्य अगाडि बढाएको थियो ।

काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले पनि उक्त सडक निर्माण भएको हो ।

करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी ३ अर्ब २६ करोड खर्च भइसकेको उपत्यका विकास प्राधिकरण इन्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनका अनुसार अहिले पनि केही ठाउँमा करिडोर निर्माणको काम भइरहेको छ ।

करिडोर निर्माण कार्य थालेको २० वर्ष पूरा भइसकेको छ । तर, अझै पनि आयोजना काम सकिएको छैन । बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकाय समन्वयको अभाव, अधिकार सम्पन्न बागमती एकीकृत समाजले ढल निर्माणमा देखाएको सुस्तता लगायतका कारण करिडोर निर्माणमा ढिलाइ भएको कुँवरको भनाई छ ।

सरकारले आर्थिक वर्ष २०५६/५७ देखि नै बाग्मती-धोबिखोला दोभानदेखि चाबहिलको ओम अस्पतालसम्म ६ किमी लामो धोबीखोला करिडोर निर्माण गर्ने योजना अगाडि सारेको थियो । सुरुमा करिडोर निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, काम अघि बढाउन नसकेको भन्दै बेग्लै बजेट छुटाएर आर्थिक वर्ष २०६६/६७ मा उक्त निर्माणको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइयो ।

सुरुका वर्षमा कामले गति लिन नसके पनि आर्थिक वर्ष २०६७/६८ देखि भने कामले केही गति लिन थालेको थियो । हालसम्म कामको प्रगति करिब ९६ प्रतिशत भएको प्रधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार धेरैजसो सडकको ट्«याक खुलेको छ । ट्रयाक नखुलेको केही सडकको काम गर्न बाँकी रहेको कुँवरले बताए । उपत्यका विकास प्राधिकरणले आगामी आर्थिक वर्षभित्र उक्त करिडोरको निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ ।

मुआब्जा वितरणमा निलोपुलका केही ठाउँमा समस्या रहेको प्राधिकरणले जनाएको छ । करिडोरका विभिन्न स्थानहरुमा कालोपत्रे भने भइसकेको छ ।

‘बुढानीलकण्ठ नगरपालिकाको वडा नं. २ मा पहिरोका कारण एक किलोमिटर ट्रयाक खोल्न सकेको छैन, निलो पुलमा घरको मुआब्जा विवादको कारण एक सय मिटर ट्र्याक खोल्ने काम बाँकी छ हामीले अन्य काम गरी सकेका छौं,’ उनले भने ।

मुआब्जा लिन नमानेका ६/७ घरधुरी छन् । उनीहरूले सरकारले तोकेको भन्दा रकम माग गरेका छन् । जग्गाधनीले मागेजति रकम प्राधिकरणले दिन नसकेका कारण विवाद कायम छ ।

चालु आर्थिक वर्षमा करिडोर निर्माण गर्नको लागि १८ करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । प्राधिकरणले ४ किलोमिटर ढल पनि बिछ्याएको छ ।

खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक सम्पन्न गर्ने लक्ष्य लिइएको उपत्यका विकास प्राधिकरण जनाएको छ ।

तर, पछिल्लो समयमा कालोपत्रे भएका करिडोरको सडकमा सवारी पार्किङ गर्ने क्रम बढेको छ । जसले अपेक्षित सवारी व्यवस्थापन हुन सकेको छैन भने करिडोरमा दैनिक जसो दुर्घटनाहरू बढेको छ ।

करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्न सफल भएका छन् । यसले गर्दा मुख्य सडकमा सवारीको चाप रट्राफिकसमस्या पनि धेरै हदसम्म पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.