बजारमा चार महिना यताकै उच्च कारोबार, सबैभन्दा बढी एनबी बैंकको

  २०७८ पुष २८ गते १५:३८     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा करिब ४ महिनायताकै उच्च कारोबार भएको छ । बजारमा २२९ स्क्रिप्सको ८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३१ करोड रुपैयाँले बढी हो भने करिब ४ महिना यताकै सर्वाधिक कारोबार हो ।

गत असोज ४ गतेको बजारमा ८ अर्ब ३२ करोडको सेयर कारोबार भएको थियो । त्यसयताको कारोबारमा ८ अर्ब रुपैयाँ माथिको सेयर कारोबार हुन सकेको थिएन ।

बुधबार नेपाल बङ्गलादेश (एनबी) बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि १० रुपैयाँले बढेर प्रतिकित्ता ४०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सर्वाधिक कारोबार गर्नेको दोश्रोमा एचआईडीसीएल, तेश्रोमा अपि पावर र चौथोमा अपर तामाकोशी हाइड्रोपावर रहेका छन् । यी कम्पनीको क्रमशः २७ करोड ६१ लाख, २४ करोड ७० लाख र २२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् ।

लामो समय पछि उच्च कारोबार भएको बजारमा परिसूचक भने घटेको छ । गत सातादेखि दैनिक निरन्तर बढेको बजारमा पुस २८ गते भने दोहोरो अंकको करेक्सन देखिएको हो । बुधबारको परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०८ प्रतिशतले घटी हो ।

सेयर मूल्य मापक नेप्से परिसूचक गत पुस २१ गतेदेखि निरन्तर उकालो लागेको थियो । सो दिन २६४९ बिन्दुमा रहेको परिसूचकले यो अवधि (अर्थात पुस २७ गतेसम्म) मा १८५ अंकको उकालो यात्रा पार गरेको थियो ।

घटेको बजारमा पनि ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) १०/१० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९८/९.९८ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ६.२१ प्रतिशतले घटेर प्रतिकित्ता ४६७ रुपैयाँमा कारोबार भएको छ ।

बुधबार इन्भेष्टमेन्ट, उत्पादनमूलक र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.