तनहुँकाे उद्याेगमा नौ अर्ब २१ करोड लगानी, ३३ हजारलाई रोजगारी

  २०७८ पुष २६ गते १३:२१     विकासन्युज

तनहुँ । तनहुँमा सञ्चालित उद्योगमा करिब ३३ हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् । जिल्लामा सञ्चालनमा रहेका दश हजार ४२१ उद्योगमा उक्त सङ्ख्यामा मानिसले रोजगारी पाएका हुन् ।

तनहुँमा सञ्चालनमा रहेका उद्योगमा नौ अर्ब २१ करोड लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

प्रत्येक उद्योगमा करिब दश लाखका दरले लगानी भएको तथ्याङ्क रहेको घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जनाएको छ । तनहुँमा हालसम्म एघार हजार १६२ उद्योग दर्ता भएकामध्ये दश हजार ४२१ वटा उद्योग सञ्चालनमा छन् । चालू आवमा मात्रै एक हजार नौ उद्योग दर्ता भएका छन् ।

पछिल्लो समय महिलाको नाउँमा फार्म नामसारी गर्नेको सङ्ख्या ९० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । अहिले पनि दैनिक १५ देखि ३० जना फार्म दर्ताको लागि उक्त कार्यालयमा जाने गरेका छन् । महिलाको नाउँमा फार्म हुँदा बैंकले उद्यमी कर्जा प्रवाह गर्न थालेपछि महिलाको नाउँमा फार्म दर्ता गर्नेको सङ्ख्या बढेको छ ।

कृषिजन्य, पशुजन्य, फर्निचरलगायतका उद्योगको सङ्ख्या पनि बढिरहेका छन् । साना उद्योगको लागि घरेलु कार्यालयमा दर्ता गरिए पनि १५ करोड देखि ५० करोडसम्मका उद्योग विभागमै दर्ता हुने प्रावधान छ ।

घरेलु कार्यालयले अनलाइन दर्ता प्रक्रियालाईसमेत अघि बढाएको छ । तथ्याङ्क सुरक्षित राख्न डिजिटलाइजेसन गरिएको छ । उनले भने, ‘शुरुमा काम गर्न समय लाग्ने र झन्झटिलो जस्तो देखिएपनि पछि खोजेको समयमा सहज, छिटो र काम गर्न सजिलो हुनेछ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.