२३ वटा हाइड्रोको आईपीओलाई अनुमति दिन माग, तत्काल नदिए आन्दोलन गर्ने चेतावनी

  २०७८ पुष २६ गते १०:५५     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले २३ वटा हाइड्रो पावरको आईपीओ निष्काशनलाई अनुमति दिन माग गरेको छ । संस्थाले नेपाल धितोपत्र बोर्ड (सेबोन) का पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन् ।

इप्पानको संंयोजकत्वमा आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले पुस २५ गते बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । सेबोनले लामो समय भइसक्दा पनि आईपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा कुनै सुनुवाई नगरेपछि उक्त माग गरिएको इप्पानले जनाएको छ ।

इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन आग्रह गरेको छ । यदि एक हप्ताभित्र उक्त विषयमा कुनै सुनुवाई नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने समेत इप्पानले जनाएको छ ।

‘जलबिद्युत कम्पनीहरुको आईपीओको सम्बन्धमा सेबोन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएका छन्, आईपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको छ, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको छ, आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको छ,’ इप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बौं रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने इप्पानको भनाई छ ।

साथै, सेबोनका प्रवक्ताले जलविद्युत आयोजनाको आईपीओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवज्यू तथा अर्थ मन्त्रालयका सचिवसँग बारम्बार छलफल भइरहेको समेत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.