थपिए २६२ उद्योग, १ खर्ब ८३ अर्ब लगानी हुँदा २० हजार रोजगारी सिर्जना

  २०७८ पुष २५ गते १०:३०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना उद्योग क्षेत्रमा लगानी र रोजगारी सिर्जनाको आधारमा उत्साहजनक देखिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २६२ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा स्वदेशी लगानीका १३६ र विदेशी लगानीका १२६ उद्योग थपिएका हुन् । यी उद्योगमा १ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको लगानी स्वीकृत भएको छ ।

लगानी स्वीकृत भएका स्वदेशी तथा विदेशी लगानीका उद्योगमा २० हजार २८३ जनाको लागि रोजगारी सिर्जना भएका छन् ।

सिर्जना भएको नयाँ रोजगारीमा स्वदेशी लगानीका ठूला, साना र मझौला उद्योगमा १२ हजार ३ सय २१ जना र विदेशी लगानीका उद्योगमा ७ हजार ९६२ जनालाई रोजगारी सिर्जना भएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मात्र साना, ठूला र मझौला गरी ४१ वटा स्वदेशी लगानीका उद्योगहरु दर्ता भएका थिए । उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ३ हजार ६३२ जनालाई रोजगारी दिइने उल्लेख गरिएको छ ।

त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता हुँदा १ हजार ८९५ जनाको लागि रोजगारी सिर्जना भएको छ ।

असोज महिनामा साना, ठूला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका थिए । उक्त सङख्यामा उद्योग दर्ता भएसँगै २ हजार ६६७ जनाले रोजगारी पाउने अवस्था सिर्जना भएको छ भने कात्तिक महिनामा २८ वटा उद्योग दर्ता हुँदा २ हजार १३४ जनाले रोजगारी पाउने छन् ।

विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना, ठूला र मझौला गरी २० वटा दर्ता भएका छन् । जसबाट २ हजार ५३ जनालाई रोजगारी दिइने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.