अरु बैंकबाट ऋण पाएनौं भन्छन्, हामीलाई बैंकहरुले पैसा लैजा भन्छन्: विजय राजभण्डारी

  २०७८ पुष २४ गते १९:५२     विकासन्युज

विजय राजभण्डारी नेपालको व्यवसायिक क्षेत्रमा सफल मात्र होइन, प्रतिष्ठित व्यवसायी पनि हुन् । राजभण्डारीले नेतृत्व गरेको सीई ग्रुपले ३० वर्षको अवधिमा २०७ वटा प्रोजेक्ट निर्माण सम्पन्न गरेको छ । र, अहिले १० वटा प्रोजेक्ट निर्माण गर्दैछ । निजी क्षेत्रले बनाएका होटल, हस्पिटल, कलेज, कर्पोरेट विल्डिङ कन्स्ट्रक्सनको काम गर्दै अगाडि बढेको सीई ग्रुपले पछिल्लो समय जलविद्युत्, रियलस्टेट, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी विस्तार गर्दैछ । सीई ग्रुपले आफ्नै लगानीमा १००० मेगावाट क्षमताको जलविद्युत प्रोजेक्ट बनाउने, ठूलो लगानीको लागि विदेशी साझेदार भित्र्याउने, देशभरका जलविद्युत गृहहरु नियमित सञ्चालनको लागि विशेष सेवा दिने जस्ता महत्वकांक्षी योजना अगाडि सारेको छ । यहि विषयमा केन्द्रीत भई राजभण्डारीसँग गरिएको विकास वहस यस पटक ।

निर्माण (कन्स्ट्रक्सन) व्यवसायमा तपाईको प्रवेश कसरी भयो ?

३० वर्षअघि ठेकेदारी पेसा गएग्रुजेको मानिन्थ्यो । कन्स्ट्रक्सनमा गुणस्तरीय काम हुँदैन थियो । ठेक्का अवधि भित्र कुनै पनि काम नसकिने समस्या थिए । त्यस्तो बेलामा हामी अमेरिकामा पढेका, अमेरिकामा नै काम गरेका इन्जिनियहरु नेपालमा आएर कन्स्ट्रक्सनको काम शुरु गरेका थियौं ।

देश विकासको लागि कस्ट्रक्सन क्षेत्रको भूमिका ठूलो हुन्छ । विकास निर्माणको कामले आर्थिक गतिविधि बढ्छ । त्यसले आर्थिक वृद्धिदर बढाउन मद्दत गर्छ । आर्थिक वृद्धिसँगै सामाजिक चेतनाको विकास हुन्छ । त्यसले राजनीति परिवर्तन गराउन पनि मद्दत गर्छ भन्ने वृहत सोचका साथ हामी नेपाल फर्किएका थियौं ।

त्यतिबेलाका चुनौतिहरु के के थिए ?

त्यतिबेला १०औं हजार कन्ट्याक्टर थिए । त्यो भिडमा हामी डी क्लासको कन्स्ट्रक्सन कम्पनी खोल्यौं । ६ जनासँग मिलेर ५०÷५० हजार रुपैयाँ गरेर ३ लाख रुपैयाँ जम्मा गरी न्यूरोडको एउटा गल्लीभित्र सानो कोठामा एउटा टेबुल र ३ ओटा कुर्सी राखेर कम्पनी शुरु गरेका हौं ।

हामीलाई नयाँ तरिकाबाट काम गर्ने चुनौति थियो । नयाँ के गर्ने ? कसरी गर्ने भन्नेमा हामीले स्पष्ट मार्गचित्र बनायौं । पहिलो, गुणस्तरीय काम गर्ने । दोस्रो समयमा सक्ने । तेस्रो, विदेशमा प्रयोग हुँदै आएका प्रविधिको प्रयोग भित्र्याउने । पहिलो ठेक्का हामीले ५ लाख रुपैयाँमा लियौं । निर्माण सम्पन्न हुँदा ७ लाख रुपैयाँ लाग्यो । काम तोकिएको समयभन्दा अगाडि नै सकायौं ।

पहिलो प्रोजेक्ट नै घाटामा गएपछि प्रोजेक्ट म्यानेजरले राजीनामा दिन्छु भन्नुभयो । मैले सम्झाउँदै उनलाई भने– ‘५ करोडको ठेक्का लिएर २ करोड घाटा भएको भए हामी उठ्न सक्दैन थियौं । अहिले जम्मा २ लाख घाटा भएको छ । यसमा हामीले धेरै कुरा सिकेका छौं । सिकाईमा हामीले २ लाख लगानी गरेका छौं । अब हामी राम्रो गर्न सक्छौं ।’

आफू इन्जिनियर भएको र कस्ट्रक्सन म्यानेजमेन्टमा काम गरेको अनुभव भएकोले हामीले पढेको र जानेको क्षेत्रका व्यवसायमा हात हालेका थियौं । हामीसँग शिक्षा थियो । कहाँ जाने ? के गर्ने ? बिजनेशको मोडेल के हुने ? त्यसको लागि के के गर्नुपर्छ ? नेपालमा काम गर्ने वातावरण कस्तो छ ? कति कुरा निश्चित छन् ? कति कुरा अनिश्चित छन् भन्नेमा हामी स्पष्ट थियौं । चुनौतिहरु थुप्रै छन्, अनिश्चितमा पनि धेरै छ भन्ने जानेर पनि हामी धैर्यपूर्वक अगाडि बढ्यौं ।

धेरै निर्माण व्यवसायीहरु सरकारी योजना निर्माणमा प्रतिस्पर्धा गरिरहेको पाइन्छ । सिई ग्रुपलेनिजी क्षेत्रका योजनाहरुलाई प्राथमिकता दिएको देखिन्छ । यसको कारण के हो ?

काम गर्दै जाँदा हामी के निष्कर्षमा पुग्यौं भने गुणस्तरीय काम पनि चाहिने, समयमा काम पनि सक्नुपर्ने, पैसा खर्च गर्न पनि सक्ने क्षेत्र भनेको निजी क्षेत्र हो । त्यसैले हामीले निजी क्षेत्रको लागि आवश्यक पूर्वाधार निर्माणमा जुट्यौं । तर डी क्लासको कम्पनीले कसरी राम्रो काम गर्न सक्छ भनेर एक ठाउँमा प्रश्न उठ्यो । मैले भने- ‘सरकारले दिएको लाइसेन्स डी क्लासको छ । म डी क्लासको प्रोप्राइटर होइन । अमेरिकामा पढेका साथीहरुको टिम मसँग छ । अमेरिकामा काम गरेको अनुभव मसँग छ । म आफै फिल्डमा खटेर काम गर्छु । हामी गुणस्तरीय काम गर्छौं । तोकिएको समयमा काम सक्छौं । आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण कार्य गर्छौं ।’

त्यतिबेला बोलिको भरमा हामीले काम लियौं । वाचा अनुसार काम गरेर देखाउथ्यौं पनि ।

निजी क्षेत्रमा जति राम्रो काम गरेपनि लाइसेन्स स्तरोन्नति हुँदैन थियो । त्यसैले हामीले भटाभट सरकारी काम लिएर लाइसेन्स अपग्रड गर्यौं । टेकु अस्पताल, विरेन्द्र सैनिक भवन लगायत सरकारी भवन बनाएपछि हामीले ए क्लासको लाइसेन्स पायौं । हामीले गरेको कामको सबैले प्रशंसा गर्न थाले । त्यसपछि हामीलाई कामको अभाव कहिल्यै पनि भएन ।

पछिल्लो समय जलविद्युत क्षेत्रमा तपाईंहरुको सक्रियता र लगानी दुबै बढेको छ । के ठेकेदारी बिजनेशबाट हात झिक्न लागेको हो ?

हामी कन्स्ट्रक्सन बिजनेशमा अहिले पनि छौं । अहिले पनि ठूला होटल, अस्पताल, कर्पोरेट भवन, हाउजिङको काम गरिरहेका छौं । यस क्षेत्रमा हामीले राम्रो काम गरिरहेका छौं । तर यतिले हामी सन्तुष्ट रहन सकेनौं । अमेरिका छोडेर हामी नेपाल आउनुको उद्देश्य नेपालको ओभरल डेभलपमेन्टलाई सहयोग गर्नु थियो । समग्र देश विकासमा सहयोग पुर्याउन जलविद्युत क्षेत्रमा काम गर्नु सबैभन्दा राम्रो हुने निष्कर्षमा हामी धेरै वर्ष पहिले पुगेका थियौं ।

आजभन्दा ३० वर्षअघि जलविद्युत् क्षेत्रमा बैंकहरु कर्जा लगानी गर्न तयार थिएनन् । निजी क्षेत्रले सेयर पुँजी लगानी गरेर जलविद्युत् बनाउनुपर्छ भन्ने जानेको थिएन । हामी सिभिल इन्जिनियर ब्याकराउण्डबाट आए पनि जलविद्युत ट्रान्समिशन लाइन निर्माणमा काम थाल्यौं । पहिलो चरणमा हामीले लुम्बिनीमा ११ केभी, भेडेटारमा ३३ केभी र रानीपौवा–देविघाटमा ६६ केभीको प्रसारण लाइनको निर्माण काम सम्पन्न गर्यौं । पछि हाइड्रोपावरको क्याम्प बनायौं । पहुँच मार्गहरु बनायौं ।

विस्तारै जलविद्युत क्षेत्रको परिदृष्यमा परिवर्तन आयो । जलविद्युतमा विदेशी लगानी पनि आकर्षित भयो । बैंकहरुले पनि लगानी गर्न थाले । निजी क्षेत्रको लगानी पनि बढ्न थाल्यो । निजी क्षेत्रको लगानीमा ठूला जलविद्युत परियोजनाको बन्न थाले । हाइड्रोपावर निर्माण गर्दा मुख्य कन्स्ट्रक्सन के हुन्छ भनेर हामीले हेर्यौं । हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिल र सिभिलको काम धेरै हुँदो रहेछ । सिभिल वर्कको लागि हामीले बजारको विश्वास जितिसकेका थियौं । हामीले हाइड्रोमेकानिकलमा काम गर्नुपर्ने आवश्यकता देख्यौं । त्यसपछि हाइड्रोमेकानिकल कम्पनी स्थापना गरेर काम थाल्यौं । १० वर्षअघि हामीले अपर सोलु हाइड्रोपावर प्रोजेक्ट कन्स्ट्रक्सनको काम गर्यौं ।

अढाई वर्षमा त्यस परियोजना बनाउन सफल भयौं । त्यसबाट हामीले के सिक्यौं भने– हामीले अढाई वर्ष मरिमेटेर काम गर्यौं । त्यसबाट हामीले ६/७ प्रतिशत फाइदा दियौं । जसले परियोजनामा लगानी गर्यो, उसले ३० वर्षसम्म प्रतिफल लिन्छ । त्यहि मिहेनतमा हामीले ३० वर्षसम्म किन लाभ नलिने ? हामी यो सोचमा पुग्यौं ।

सीई ग्रुप मेरो प्रोप्राइटरसिप बिजनेश होइन । सीई ग्रुपभित्र धेरै कम्पनी छन् । सबै कम्पनीमा लगानीकर्ताको साझेदारी छ । सबैसँग फरक फरक क्षमता छ । कोही पुँजी लिएर जोडिनु भएको छ । कोही विशेष क्षमता लिएर जोडिनु भएको छ । कोही इनोभेशन लिएर जोडिनु भएको छ । कोहीसँग लामो अनुभव होला । यस कारण थप पुँजी लगानी जुटाउने योजनासहित नयाँ साझेदारहरु सीईमा भित्र्याउन सकिन्छ र आफैले लगानी गरेर जलविद्युत परियोजना बनाउन सकिन्छ भनेर हामी अगाडि बढ्यौं । दुई वटा जलविद्युत परियोजना सम्पन्न भए । अरु योजनाहरु बन्ने चरणमा छन् ।

सीई ग्रुपको वेवसाइटमा ९ वटा जलविद्युत परियोजना बनाइरहेको उल्लेख छ । एकै पटक यति धेरै योजना कसरी अगाडि बढाउनु भएको छ ?

एउटा मात्र प्रोजेक्ट बनाउँदाभन्दा मल्टिपल प्रोजेक्ट बनाउँदा सबै दृष्टिकोणबाट राम्रो हुने देख्यौं । त्यसैले हामीले अम्ब्रेला कन्सेप्ट अगाडि बढाएका छौं । त्यसका लागि क्यासकेट कन्सेप्ट, करिडोर कन्सेप्ट र टेरिटोरियल एक्स्पान्सन गरी तीन किसिमका परियोजनाहरु अगाडि बढाउने हाम्रो सोच हो । त्यसो गर्दा जनशक्तिको पनि अधिकतम प्रयोग हुने, पूर्वाधारको पनि अधिकतम प्रयोग हुने, मेसिनहरुको पनि अधिकतम प्रयोग हुने, स्थानीयबासीसँग समझदारी गर्न पनि सजिलो हुने, समयको बचत पनि हुने र कम लागतमा परियोजना डेभलप गर्न सकिने भयो ।

जलविद्युत क्षेत्रमा विश्वासको संकट पनि देखिएको छ । खासगरी प्रवद्र्धकको बढी आलोचना हुने गरेको छ । यसतर्फ तपाईंहरुको अनुभव कस्तो छ ?

जलविद्युत क्षेत्रमा लगानी बढाउने हाम्रो तयारी हुँदै गर्दा २०७२ सालमा बिनासकारी भूकम्प गयो । त्यतिबेला जलविद्युत क्षेत्रले विश्वास गुमाएको थियो । जलविद्युत कम्पनीहरुले निर्धारित समयमा काम गर्न सकेका थिएनन् । अनुमानित लागत भन्दा बास्तविक लागत बढी देखिदै गएको थियो । प्रमोटरहरुले बढी मूल्यमा काम गराएर लाभ लिएको भन्ने गुनासा थिए । बैंकले पनि ऋण दिन नमान्ने अवस्था थियो । जलविद्युत भनेपछि मान्छेले पैसा नहाल्ने अवस्था आयो । त्यतिबेला जलविद्युत समूहको सेयरको मूल्य पनि धेरै तल गएको थियो ।

त्यस्तो बेलामा हामीले माइवेनी हाइड्रोवावर (९.५१ मेगावाट) प्रोजेक्टको लागि पैसा जुटाउन अन्नपूर्ण होटलमा सम्भावित लगानीकर्ताहरुको भेला राख्यौं । त्यसमा हामीले हाम्रो अम्ब्रेला कन्सेप्ट सेयर गर्यौं । यसमा लगानी गरेर हामीलाई साथ दिनु, तपाईंहरुलाई पछुतो नहुने गरी काम गर्छौं भन्यौं । एक घण्टाको प्रिजेन्टशनबाट हामीले माइवेनी हाइड्रोवावर प्रोजेक्टको लागि आवश्यक पैसा उठायौं । त्यहि दिन ३ वटा बैंकले परियोजनाको लागि कर्जा दिने प्रतिवद्धता गरे । लिड बैंकको जिम्मा नेपाल एसविआई बैंकलाई दियौं । अहिले पनि बैंकमा पैसा छैन, बैंकले कर्जा दिँदैन भनेर अरुले भन्छन् । तर हामीलाई अहिले पनि बैंकहरुले कति पैसा चाहियो, हामी दिन्छौं भनिरहेका छन् ।

हामीले अम्ब्रेला प्रोजेक्ट कन्सेप्टमा काम अगाडि बढायौं । माइवेनी नजिकैको जोगमाई ६.२ मेगावाटको प्रोजेक्ट एक्वाएर गर्यौं । त्यसपछि मिडिल मेवा हाइड्रोपावर ४९ मेगावाटको प्रोजेक्टको लाइसेन्स लियौं । १११ मेगावाटको दुधकोसी हाइड्रोपावरको लाइसेन्स लियौं । तामाकोशीमा अर्को प्रोजेक्ट लियौं । निलगिरी खोला ७१ मेगावाट र निलगिरी खोला ४०.७ मेगावाट गरी १११ मेगावाटमा पनि कन्स्ट्रक्सनको काम भैरहेको छ । कुनै प्रोजेक्ट एक्वाएर गर्ने, कुनै नयाँ लाइसेन्स लिने गर्दै हामीले करिव ४०० मेगावाटको पोर्टफोलियो बनायौं । कन्ट्रयाक्टरको रुपमा ८६ मेगावटको सोलु दूधकोसीमा काम गरिरहेका छौं । ४/५ महिनामा यो परियोजना बनाएर सक्छौं ।

अब तपाईंहरुको प्राथमिकता आफै परियोजना विकास, लगानी र निर्माणका काम मात्र गर्ने कि अरुले लगानी गरेको परियोजना निर्माणमा ठेक्का लिएर पनि काम गर्ने ?

हामी आफ्नै लगानीमा पनि जलविद्युत बनाउँछौं र कन्ट्रयाक्टरको रुपमा पनि काम गर्छौ । साथै, कतिपय प्रोजेक्टहरु संकटमा छन् । कुनैमा पाटनरबीच विवादका कारण होला, कुनैमा पुँजीको कमी भएको होला, कुनै प्रविधिको प्रयोग हुन नसकेको होला, कुनैमा व्यवस्थापन राम्रो नभएर समस्या होला । कुनै पनि प्रोजेक्ट कोल्याप्स हुनु भनेको देशको सम्पत्ति नोक्सान हुनु हो । कुनै पनि लगानीकर्ता डुब्न लाग्यो भने त्यस्तो अवस्थामा पार भ्यालुमा प्रोजेक्ट लिएर निर्माण पुरा गर्न पनि सकिन्छ ।

हामी सकेसम्म ठूला परियोजना काम गर्न चाहान्छौं । ठूलो प्रोजेक्ट भए पनि सानो प्रोजेक्ट भए पनि कन्स्ट्रक्सनको अवधि करिव ३ वर्ष नै हुन्छ । गर्नुपर्ने सबै प्रक्रिया र काम एउटै हुन्छ । निर्माणको समयमा चाहिने इक्विपमेन्टहरु त्यहि हुन् । हामीले जलविद्युत परियोजना बनाउनको लागि आवश्यक इक्विपमेन्टमा मात्र करिव २ अर्ब रुपैयाँ लगानी गरिसकेका छौं । ती इक्विपमेन्टको पूर्ण प्रयोगको लागि पनि हामीलाई ठूला परियोजना चाहियो । तर ठूला परियोजनामा नेपाली बैंकहरुले लगानी गर्न नसक्ने भए । त्यसैले हामीले विदेशी लगानी भित्र्याउने दिशामा काम थालेका छौं ।

विदेशी लगानी भित्र्याउने सोच धेरै नेपाली व्यवसायीले बनाउँछन् तर सफल भैरहेका छैनन् । विदेशी लगानीकर्तालाई आकर्षित गर्ने योजना के छ ?

कुरा मात्र होइन, काम नै अगाडि बढाईसकेको छौं । विभिन्न संस्थाहरुसँग नन् डिस्क्लोजर एग्रिमेन्ट (एनडीए) गरिसकेका छौं । हामीले जापानको टोसिवा र टेक्को, चीनको डाटा, बेलायतको सीडीसी, डोल्मा, विश्व बैंकको आईएफसी, नेदरल्याण्डको एफएमओ लगायत विदेशी लगानीकर्तासँग हामी सहकार्यमा जादैछौं । कसैसँग हामीले सेयर पुँजी लगानी गर्ने गरी समझदारी गरेका छौं । कसैसँग कर्जा लगानी गर्ने गरी सम्झौता गरेका छौं । हामी विदेशी ठूला प्रोजेक्ट डेभलपरसँग सवकन्ट्रयाक्टर भएर काम गर्ने गरी तयारी गरेका छौं ।

निकट भविष्यको थप योजना के छन् ?

हामी आफैले १ हजार मेगावाट क्षमताको जलविद्युत् कम्पनीहरु सञ्चालन गर्दैछौं । अब हाम्रो फोकस नियमित सञ्चालनमा हुनेछ । एकदिन मात्र हजार मेगावाट क्षमताको जलविद्युत बन्द भयो भने त्यसमा ठूलो नोक्सान आउँछ । त्यसैले नियमित सञ्चालनका लागि आवश्यक प्राविधिक सेवा दिनेतर्फ हामीले काम गरिरहेका छौं । भविष्यमा जलविद्युत बनाउनेले भन्दा सेवा दिनेले बढी कमाउने सम्भावना छ । त्यसतर्फ हामी काम गछौं तर त्यो सजिलो काम छैन । रियलस्टेटमा धेरै पैसा छ भन्छन् तर सबैले कमाउन सक्दैन । यसमा पनि पैसा कमाउन सजिलो छैन । हामीले करिव ५० वटा प्लान्टमा गएर अध्ययन गरिसकेका छौं । हामीले करोडौं खर्च गरेर जलविद्युत गृह मर्मत स्कील डेभलप गरेका छौं । हामी रेभिन्यूमा ग्यारेन्टी दिएर सर्भिस् दिँदैछौं । ट्रान्समिसन लाइन तथा पावर ग्रीड निर्माणमा पनि हामीले काम गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.