नेप्से परिसूचक बढ्दा अपिको उच्च कारोबार, नेपाल फाइनान्ससहित तीन कम्पनीमा सर्किट

  २०७८ पुष २२ गते १५:२३     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार दोहोरो अंकले घटेको बजारमा बिहीबार भने ४३.२९ बिन्दुले उकालो लागेको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक १.६३ प्रतिशतले बढेर २६९२.४७ बिन्दुमा पुगेको छ । जुन दिनभरको कारोबारको हाई बिन्दु नजिक हो । बजारमा परिसूचक न्यूनतम २६३३.३१ बिन्दुदेखि अधिकतम २६९२.७६ बिन्दुसम्म पुगेको थियो ।

परिसूचकमा सुधार देखिएको बजारमा सेयर कारोबार रकम भने घटेको छ । बुधबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९५ करोड रुपैयाँले घटी हो ।

सो दिन २३८ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी अपि पावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बिहीबार १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य दुई कम्पनी एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । जसमध्ये एनआईसी एशियाको १४ करोड ५२ लाख रुपैयाँ र नेशनल माइक्रोफाइनान्सको १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । यससँगै नेपाल फाइनान्सको प्रतिकित्ता ५७५.३० रुपैयाँ, तेह्रथुम पावरको ४९३.९० रुपैयाँ र मध्य भोटेकोशीको प्रतिकित्ता २३५.६० रुपैयाँमा अन्तिम कारोबार भएको हो ।

बिहीबार कारोबारमा आएका मध्ये कुनै पनि कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छैन । त्यसमा पनि सबैभन्दा बढी ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ को मूल्य ३.५३ प्रतिशतले घटेको छ । र, प्रतिऋणपत्र १०४० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बजारमा उत्पादनमूलक र ट्रेडिङ्ग समूह सामान्य प्रतिशतले घटेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.