पर्यटनमन्त्री आले भन्छन्ः मन्त्रिपरिषद्ब निर्णय गरेर भएपनि दरबारबाट बतास समूह हटाउँछु

  २०७८ पुष २२ गते १४:४८     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् ।

बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन ।

उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफु छलफलमा रहेको बताउँदै मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताए । उनले बिहीवार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।

उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरी त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ । आज हामी त्यहाँ अवलोकन गर्न जादैछौँ । त्यहाँ स्ट्रक्चरहरु जुन निर्माण भएको छ, त्यो पनि हामी हेर्छौ । र त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ त्यो हामी गर्छौ ।’

उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए ।

मन्त्रालयले बनायो छानबीन समिति

नारायणहिटी संग्रहालय भित्र रेष्टुरेन्ट सञ्चालनको विषयमा सरकारले अध्ययन गर्ने भएको छ । रेष्टुरेन्ट सञ्चालको अनुमति दिएको भन्दै विरोध भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुँइटेल संयोजक रहेको अध्ययन कमिटी गठन भएको छ। दरबारभित्र बतास ग्रुपको बि म्यानेजमेन्ट प्रालिलाई नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिले कफी सप सञ्चालनका लागि भाडामा भवन दिएको थियो।

कम्पनीले कफी सप सञ्चालनका लागि भन्दै सम्झौताबाहिर गएर संरचना बनाएको थियो। उक्त विषयमा विरोध आएसँगै समितिले मन्त्रालयको निर्देशनमा निर्माण कार्य रोकेको थियो।

कसरी दरबारमा चिया पसल खोल्न लागिएको हो र कसरी बतासले पाएको हो छानबीन गरी रिपोर्ट बुझाउन मन्त्रीस्तरीय निर्णयबाट अध्ययन कमिटी गठन भएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। समितिमा ५ जना रहेको र रिपोर्ट बुझाउन ३ दिनको समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.