६ वर्षपछि आफ्नै आवासमा फर्किए बारपाकवासी, भन्छन्ः बल्ल आनन्द महशुस भयो

  २०७८ पुष २१ गते ११:४७     विकासन्युज

काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएका छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन् ।

जग्गाहीनहरुले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुशी देखिन्छन् । भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम यूएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिव ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ । अझै पनि गोरखामा भूकम्पबाट भत्किएका साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके गोरखाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ । ३ लाखमा सरकारले बनाइदिएको घरमा अहिले आनन्द महशुस गरिरहेको उनीहरु बताउँछन् ।

त्यस्तै, गोर्खा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष हरिबहादुर खनालले अहिले निर्माणसम्बन्धी अधिकांश कामहरु सकिएको र केही विद्यालय तथा साँस्कृतिक सम्पदाका कामहरु बाँकी रहेको बताए । उनले नेपाल सरकारले भूकम्पका कारण भत्किएका घरहरु पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ दिए पनि त्यो पर्याप्त नहुँदा कतिपय आवास अहिलेसम्म पनि निर्माण हुन नसकेको गुनासो गरे ।

अध्यक्ष खनालले भने, ‘अहिले निर्माणसम्बन्धीका धेरै कामहरु भएका छन् । अधिकांश विद्यालयहरु बनिसकेका छन् । बन्न बाँकी भनेको धार्मिक संरचनाहरु, मठ, मन्दिरहरु बन्न बाँकी छन् । यद्यपी धेरै स्वास्थ्यचौकी र विद्यालयहरु बनिसकेका छन् । बन्ने क्रममा पनि केही छन् । तर नेपाल सरकारले ३ लाख रुपैयाँ भन्दा धेरै सहयोग गर्न सकेन । ३ लाखले पहाडी भेगमा घर बनाउन गाह्रो हुने रहेछ । स्थानीय निर्वाचन भइसकेपछि जनप्रतिनिधिहरुको दौडधुपले गर्दा केही नर्मल भयो । भुक्तानि दिने प्रक्रिया पनि अलि छिटो भयो । एक वर्ष यता नर्मल तरिकाबाट धेरै घरहरु बनिसकेपछि सामान्य बन्दै गएको छ । अहिले बनेका घरहरु जति बन्दैछन्, ती घरहरु भूकम्प प्रतिरोधी हुनुपर्ने, भनेर मापदण्ड नै स्थानीय तहले निकालेका छौँ ।’

आवास पुनर्निर्माणपछि स्थानीयहरु रोजगारी सिर्जना भएको र काम सिक्ने अवसरले आफ्नो आर्थिक स्थितीमा सुधार भएको बताउँछन् । यूएनडिपीले आफ्नै विज्ञ इन्जिनियरहरुबाट गाउँ गाउँमा पुगेर भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको र त्यो सीपले नै आफ्नो र परिवारको आर्थिक स्तर बढ्दै गएको बताउँछन् । उक्त तालिम महिला र पुरुष दुवैले पाउँदा महिलालाई पनि समान अधिकार मिलेको उनीहरुको भनाइ छ । आवास निर्माण साथी डम्बरबहादुर सुनार, घर बनाउन मात्र नभएर आफूले भूकम्पबाट पीडित र त्रसित गोरखावासीलाई सम्झाउन पाएकोमा निकै खुशी लागेको महशुस गर्नुहुन्छ ।

उनी भन्छन्, ‘डिपीआर गरिसकेपछि घर बनाउन सक्ने स्थिती भएन । त्यसपछि भारत सरकारले फेरि अर्को परियोजना ल्याएर जस्ताहरु सहयोग गरेर काम गर्नुभयो । एउटा घर जसरी भएपनि बनाउनु पर्ने भनेर सहयोग गर्नुभयो । यसको लागि भारत सरकारलाई मुरीमुरी धन्यवाद । त्यस्तो गर्दागर्दै पनि अहिलेको अवस्थामा केही घरहरु रोकिरहेको छ । रोकिएको घरहरुलाई सहजीकरण भनेर अन्तिम अवस्थामा हामीले आफैँ एनएस लागि परेर सहजीकरण गर्यौं ।’

त्यस्तै सिक्स टेक्टिकल सर्भिसेस प्रा.लि.का दीपक त्रिपाठीले आफ्नो कम्पनीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले नेपालमा भूकम्पबाट सुरक्षित घरहरु निर्माण गरेको बताए ।

उनले भने, ‘यूएनडिपी र भारत सरकारको सहयोगमा यो परियोजना सम्पन्न भएको छ । हामीले नेपालमा आवास निर्माण साथीहरुलाई सामाजिक, प्राविधिक र संरचनात्मक कुराहरुमा सहयोग गरेका छौं । यसमा हामी धेरै नै खुशी छौं । हामीले सकेसम्म सुरक्षित घरहरु निर्माण गरेका छौं ।’

त्यस्तै नेपाल स्थित भारतीय दुतावास उपप्रमुख खम्पा नामग्यालले भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको र अझै विकासका क्षेत्रमा पनि सहयोग गर्ने बताए । उनले यूएनडिपी र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखाका ५० हजार घर पुनर्निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र सँस्कृतिको क्षेत्रमा सहयोग गरिरहने बताए ।

उनले भने, ‘नेपाल सरकारलाई भारत सरकारले भूकम्पबाट भत्किएका आवासगृह बनाउन सहयोग गरिरहेको छ । यूएनडिपी र भारत सरकारको सहयोगमा गोरखा र नुवाकोटमा गरी ५० हजार भन्दा धेरै आवास पुनर्निर्माण गरिएको छ । २०१५ को विनाशकारी भूकम्पमा परी भत्किएका घरहरुको पुनर्निर्माण गर्न पाउँदा हामी धेरै ने खुशी भएका छौं । हामीले आवास क्षेत्रको पुनर्निर्माण पूरा रुपमा सकेका छौँ । भारत सरकारले नेपालमा स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ । यी तीन क्षेत्रमा करिव २ सय प्रोजेक्ट गरेका छौँ । भारत नेपालको लागि विकासको साथी हो ।’

त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल उपप्रतिनिधि बेर्नान्र्डाे काक्कोले २०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम पूर्ण रुपमा सम्पन्न भएको बताए । उनले यूएनडिपीले यसमा सामाजिक र प्राविधिक सहयोग गरेको बताउँदै भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए ।

उपप्रतिनिधि बुर्नान्डोले भने, ‘२०१५ मा गएको भूकम्पले भत्काएका गोरखा र नुवाकोटका आवास पुनर्निर्माणको काम हामीले सकेका छौं । भारतले गरेको सहयोग पनि यसमा सह्रानिय छ । यसमा हामीले सामाजिक र प्राविधिक र आर्थिक सहयोग धेरै गरेका छौं ।’

उपप्रतिनिधि बेर्नान्र्डाेले पुनर्निर्माणका काममा आफूहरु हरेक कुरामा केन्द्रित रहेकोले सुरक्षित आवास निर्माण भएको दाबी गरे । उनले नेपाललाई यो बाहेकका अन्य विकासका क्षेत्रमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.