काठमाडौंका ३० ठाउँमा बन्दैछन् रमणीय पार्क, पौने १८ करोड लगानी

  २०७८ पुष २१ गते ११:४३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाभित्र ३० वटा पार्कको निर्माण हुँदैछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ काठमाडौं, ललितपुर र भक्तपुरमा ३० वटा पार्क निर्माण गर्न लागेको हो ।
उपत्यकामा सुविधा सम्पन्न पार्क निर्माणका लागि काम अगाडि बढाईको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सार्वजनिक जग्गाको संरक्षण गरी ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका ३० वटा पार्क निर्माणको कार्य अगाडि बढाएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् ।

विकास आयुक्त ढकालका अनुसार काठमाडौंमा १४, भक्तपुरमा १०, ललितपुरमा ६ वटा पार्क निर्माण हुने भएका हुन् । पार्क निर्माण गर्नेको लागि काठमाठौंमा ७ करोड ५० लाख, भक्तपुरमा ५ करोड ५० लाख र ललितपुरमा ४ करोड ४१ लाख रुपैयाँ गरी कुल १७ करोड ८१ लाख रुपैयाँ बजेट छुट्याइएको उनको भनाई छ ।

उपत्यका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको ढकालले बताइन् ।

प्राधिकरणले सम्पूर्ण पार्क निर्माणको काम टेन्डर प्रक्रिया अगाडि बढाएको छ । पार्क टेन्डर भइसकेको केही महिनाबाट निर्माण सुरु हुनेछ । केही पार्कको निर्माण कार्य भने सुरु पनि भइसकेको छ ।

विकास आयुक्त ढकालका अनुसार अकिांश पार्कहरुको टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ । उनका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै ती पार्कहरुको निर्माण कार्य सकिनेछ ।

भक्तपुर जिल्ला आयुक्त राजेन्द्र प्रसाद पाण्डेयले भक्तपुरमा ४ वटा पार्क टेण्डरको प्रक्रियामा गइसकेको बताए । ५ वटा पार्क निर्माणको काम नयाँ कार्यक्रम समावेश गर्न प्रमुख कार्यालयलाई माग गरेको उनको भनाई छ ।

‘पार्क निर्माणमा विनियोजित बजेट मात्र खर्च गर्छौं, आगामी वर्ष फेरी बजेट आयो भने थप काम गर्ने छौं, बजेट अनुसार हामी काम गर्दै जान्छौं,’ उनले भने ।

ललितपुरमा पार्कको नक्सा बनाउने र केही पार्कको काम टेन्डर प्रक्रिया अगाडि बढाएको ललितपुरका जिल्ला आयुक्त जगदिश लामिछाने बताए । ‘पार्क निर्माण गर्नको लागि आवश्यक तयारी भएको छ, अब छिटोभन्दा छिटो पार्क निर्माणको काम सुरु हुन्छ,’ उनले भने ।

प्राधिकरणले गत आर्थिक वर्षमा १३ वटा पार्क निर्माण तथा सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य अगाडि बढाएको थियो । ती पार्क निर्माण गर्नको लागि १५ करोड ६ लाख ४५ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमध्ये १२ करोड ५७ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको छ ।

कुन पार्कका लागि कति बजेट ?

प्राधिकरणको योजना अनुसार काठमाडौं जिल्ला भित्र १४ वटा पार्क निर्माण हुने छन् । पार्क निर्माण गर्न ७ करोड ९० लाख रुपैयाँ बजेट छ । योजना अनुसार प्राधिकरणले विपत् व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा पार्क निर्माण गर्ने १० लाख, काठमाडौं जिल्ला लैनचौर सहिद पार्क निर्माणका लागि एक करोड, बुढानिलाकण्ठ २, गिरिजा प्रसाद पार्क निर्माणको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै, बुढानिलाकण्ठ ८, ओमनगर पार्क निर्माणको लागि एक करोड, शंखपुर ८, शान्तिनगरमा पार्क निर्माणका लागि एक करोड, किर्तिपुर २, चिल्ड्रेन पार्क निर्माणका लागि एक करोड, किर्तिपुर चम्पादेवी पार्क निर्माणको लागि एक करोड, काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ र ८ स्थित कागेश्वरी मन्दिर क्षेत्रमा सार्वजनीन पार्क निर्माणको गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । काठमाडौं जिल्लामा नै पार्क निर्माण गर्नका लागि १० लाख रुपैयाँ योजना छन् भने ५ लाखका २ वटा योजना रहेका छन् ।

ललितपुरमा ६ वटा पार्क निर्माणको काम अगाडि बढेको छ । ललितपुर जिल्लामा महालक्ष्मी २, बेदलीचौर (गाचा) पार्क निर्माण एक करोड, ललितपुर महानगरपालिका, २ छुङमती पार्क निर्माणको लागि एक करोड, मनहरा नगरपालिका वडा नं. २५ सैंबु भैसेपाटीको सार्वजनीन संरक्षण गरी पार्क निर्माण गर्न एक करोड, मनहरा नगरपालिका वडा नं. २८ सिकाली मन्दिर परिषरमा पार्क निर्माण गर्नको लागि एक करोड रुपैयाँ बजेट रहेको छ । यी स्थानहरूमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट पारित भइसकेको छ ।

यस्तै, भक्तपुरमा १० वटा पार्क निर्माण हुने भएका छन् भने उक्त पार्क निर्माणको लागि ५ करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । भक्तपुर जिल्ला सल्लाघारीमा पार्क निर्माण गर्नको लागि एक करोड, सूर्यविनायक, ४ अनन्तलिङ्गेश्वर महादेव खोला पार्क निमार्ण गर्नको लागि एक करोड, सूर्यविनायक ५, गणेशमान बाटिका निर्माणको लागि एक करोड, भक्तपुर चांगुनारायण, ५ नागथलि कृष्ण मन्दिर पार्क निर्माणको लागि एक करोड, गुण्डु पार्क निर्माण गर्नको लागि ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै भक्तपुरमा पार्क निर्माणका नै १० लाख रुपैयाँका योजना ३ वटा रहेका छन् भने २० लाख रुपैयाँ बराबरको योजना २ वटा रहेका छन् ।

यी हुन् निर्माण सुरु भएका पार्क

भक्तपुर जिल्लामा ५० लाख रुपैयाँ गुण्डु पार्क निर्माण हुने भएको छ । उक्त पार्क निर्माणको टेन्डर प्रक्रिया अगाडि बढेको छ । उक्त पार्क जलवायु अनुकूल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको पार्क निर्माण हुने छ । निर्माणको काम छिटै अगाडि बढ्ने प्राधिकरणले जनाएको छ ।

कठमाडौं जिल्ला कीर्तिपुर २ चम्पादेवी पार्क एक करोड रुपैयाँको बजेटमा निर्माण हुने भएको छ । उक्त पार्क टेन्डर प्रक्रियामा अगाडि बढेको छ । घाटल बाबा मन्दिर एण्ड पार्क नागार्जुन-७, रामकोमा रमणीये पार्क बन्ने भएको छ । यस्तै भक्तपुर सल्लाघारी पार्क एक करोड रुपैयाँको बजेटमा निर्माण हुने भएको छ । निर्माणको काम भने केही महिना पछि निर्माण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.