म्याग्दीमा १०० मिटर सडक बन्न लाग्याे दुई वर्ष

  २०७८ पुष २० गते १३:४६     विकासन्युज

फाइल फाेटाे

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ ।

धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो ।

पूर्वाधार विकास कार्यालयले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो । एक करोड ४९ लाख लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौंको बिएन कन्सट्रक्सनले ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो ।

विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादको बहानामा सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुईवटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताए ।

‘आर्थिक वर्ष ०७७/७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो,’ उनले भने, ‘०७६/७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसैपालि गरिएको हो ।’

अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ । खोरिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिए पनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए ।

‘खोरियाभन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगेको छ,’ उनले भने, ‘महतलाको भिरमा खुलेको ट्र्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुने थियो ।’ सडक भए पनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।

निर्माण कम्पनी बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाइ भएको बताउँदै आएका छन् ।

महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतलाभन्दा अगाडि खोरियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो ।

सहमतिअनुसार गत वर्ष गाउँपालिकाले विनियोजन गरेको ४० लाख बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्नेमा लमसुङका ओम विकले जोड दिनुभयो । महतला भिरमा खोलिएको सडकलाई सुधार गरेमा खोरिया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् ।

महतलाको अप्ठ्यारो भिरलाई छाडेर सडक डिभिजन कार्यालयले खोरिया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ । खोरियावासीले चन्दा सङ्कलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्र्याक पनि खनेका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न विकल्पमा छलफल र पहल भइरहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.