भरतपुर महानगरमा साढे ३ अर्ब खर्चेर १६२० किलोमिटर सडक

  २०७८ पुष १९ गते १४:४८     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाले हालसम्म १६ सय २० किलोमिटर सडकको कालोपत्रे गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ सम्म उक्त सडकको कालोपत्रे गरेको हो ।

महानगरपालिकाले हालसम्म सडकको कालोपत्रे, स्तरोन्नती तथा ग्राभेल गर्नको लागि ३ अर्ब ५४ करोड रुपैयाँ खर्च गरेको महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितले बताइन् ।

महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको बताए ।

प्रवक्ता भण्डारीका अनुसार निर्वाचित जनप्रतिनिधिहरू आएपछि महानगर भित्र सडक निर्माणको कामले तीव्रता पाएको छ । निर्वाचित जनप्रतिनिधिहरूले साढे ४ वर्षको अवधिमा ५० किलोमिटर नयाँ ट्र्र्याक खोलेका छन् । इच्छा शक्तिले गर्दा नै यति धेरै सडकको निर्माण गर्ने सम्भव भएको उनी बताउँछन् । कुनै बेला पिचको कालोपत्रे टेक्न भरतपुरको चौबिसकोठी आउनुपर्ने महानगरको ग्रामिण भेगका बासिन्दा अधिकांशको घर अगाडि नै पिच बाटो पुगेको पीडितको भनाई छ ।

केन्द्र, प्रदेश र स्थानीयतर्फको अधिकतम बजेट सडकमा प्रयोग गरेकोले महानगरेले यति धेरै सडक निर्माण गर्न सफल भएको उनी बताउँछन् । उनका अनुसार महानगरभित्रका अधिकांश सडकक कालोपत्रे भएका छन् । महानगर भित्रका सडकमा खाल्डाखुल्डी सडकको मर्मत तथा केही ठाउँमा सडक कालोपत्रे गर्ने काम पनि तीव्र गतिमा अगाडि बढाएको उनको भनाई छ ।

पूर्वाधार विकासमा महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, बहुउद्देश्यीय व्यावसायिक, सडक सञ्जाल विस्तार गर्ने, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने मेट्रो प्लाजाको सुरुवा गरेको भण्डारीले बताए ।

निर्वाचित जनप्रतिनिधिले साढे ४ वर्षको अवधिमा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, सुशासन लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उनको दावी छ ।

वडा नं. २९ मा १८ किलोमिटर नयाँ सडकको ट्र्र्याकको आवश्यकता रहेको पनि महानगरले जनाएको छ । महानगरपालिकाले ३ तरिकाबाट सडक निर्माणको काम अगाडि बढाएको छ ।

‘यो साढे ५ वर्षको अवधिमा भरतपुरका अधिकांश ठुला र महत्त्वपूर्ण सडक कालोपत्रे हुन्छ, जनताले धुलो खानुपर्दैन भनेर निर्वाचित जन्रतिनिधिहरुले घोषणापत्रमा पनि उल्लेख गरेका थियौं, सोही अनुसार काम भएको छ,’ उनले भने ।

महानगरपालिकाले ७ सय ५३ स्थानीय तहहरुमध्ये सर्वोत्कृष्ट पालिका र सबैभन्दा धेरै सडक निर्माण गरी कालोपत्रे गर्ने पहिलो पालिका भरतपुर महानगर भन्दै दाबी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.