सहकारी बैंकको पुँजी ८ अर्ब पुर्याउँदैछौं, अब वाणिज्य बैंकहरुसँग टक्कर चल्छः अध्यक्ष उप्रेती (भिडियोसहित)

  २०७८ पुष १२ गते १२:४१     विकासन्युज

अहिले बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अर्थात तरलताको निकै संकट छ । बैंक तथा वित्तीय संस्थाहरु प्रयाप्त तरलता नहुँदा थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । बैंक तथा वित्तीय संस्थाहरुलाई लगानीयोग्य रकमको कमि हुँदा सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंक कसरी काम गरिरहेको छ ? बैंकको विजनेस कस्तो छ ? बैंकले समग्र सहकारीहरुको विकास र व्यवसाय विस्तारमा के– कसरी काम गरिरहेको छ ? बैंकका आगामी योजना र रणनीति लगायतका विषयमा विकासन्युजका सन्तोष रोकायाले बैंकका अध्यक्ष केवी उप्रेतीसँग कुराकानी गरेका छन् ।


अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको संकट छ, यो संकट राष्ट्रिय सहकारी बैंक र समग्र सहकारी क्षेत्रमा कत्तिको छ ?

बैंकिङ क्षेत्रमा तरलता को समस्या बैंकहरुको कारण नै हो । अघिल्लो दिन मुद्दती निक्षेपमा रहेको ७ प्रतिशत व्याजदरलाई बढाएर उनीहरुले ११ प्रतिशत पुर्याएर संस्था–संस्थामा पुगे । त्यो विषयले बैंकिङ क्षेत्रमा एक किसिमको हलचल नै ल्यायो । भोलिपल्ट राष्ट्र बैंकले घटाउन भनेपछि १० को हाराहारीमा व्याजदर कायम रह्यो । तरलताको समस्या ल्याउने कामको सुरुवात बैंकबाट नै भयो । सहकारीहरुमा पनि बढी व्याज दिन्छौं भनेर हिड्दै गए । तर, अहिले बैंकमा तरलताको अभाव जति देखिएको छ त्यति सहकारीहरुमा देखिएको छैन । अलिकति असर भने पछै नै ।

हामीले सहकारीहरुमा तरलताको समस्या नआओस् भनेर लगानीमा कन्ट्रोल गर्न आग्रह गरेका छौं । स–साना र सुरक्षित किसिमको लगानी गर्न सहकारीहरु र राष्ट्रिय सहकारी बैंकले पनि सचेत छ । अहिले सरकारी क्षेत्र र हाम्रो बैंकमा पनि खासै समस्या छैन । हामी सदस्यकेन्द्रित भएको हुनाले पनि बैंकहरुमा देखिए जस्तो समस्या राष्ट्रिय सहकारी बैंकमा छैन । अहिले कर्जा लगानीमा कडाई भएपनि निक्षेप फिर्ता गर्नलाई समस्या छैन भन्ने विषय पनि आइरहेको छ ।

अहिले धेरै बैंक्हरुले आफ्नोमा निक्षेप राख्न भन्दै राष्ट्रिय सहकारी बैंकलाई प्रस्ताव गर्न लागेको विषय पनि आइरहेको छ, तपाईँहरुसँग तरलता प्रयाप्त छ र ?

पक्कै पनि हो । अहिले अधिकांश बैंकहरु हामीलाई निक्षेप राख्नका लागि आग्रह गरिरहनु भएको छ । कतिपय १२ प्रतिशतसम्म पनि व्याज दिन्छौं भनिरहेका छन् । अहिले मेरो बढी समय बैंकहरुसँगै बसेर सकिन्छ । हाम्रो होलसेल निक्षेप र होलसेल कर्जा भएकोले पनि ठूलो रकम हुन्छ । त्यो रकम किन निकाल्ने कहाँ लिने हो भनेर बैंकहरु भनिरहन्छन् ।

हामी पनि अहिले ठूलो कर्जा लगानी गर्ने अवस्थामा छैनौं । तर, कर्जा कस्तो प्रकृतिको हो ? कुन प्रयोजनका लागि हो भनेर बुझ्छौं । त्यसपछि मात्रै कर्जा लगानी गर्छौं । अहिले बजारमै भएको जस्तो संकट हामीलाई छैन । तर, कर्जा रोकेका भने छैनौं । हामीले २ अर्बको तरलता व्यवस्थापन कोष नै खडा गरेका छौं । कोषको कार्यविधि नै बनाएर सहकारीहरुमा तरलताको कारणले समस्या नआओस् भनेर यो कोष खडा गरेका हौं । त्यो कोष मार्फत अत्यावश्यक भएकोलाई नै जान्छ । अत्यावश्यक वाहेकको कर्जा अन्य मापदण्डमार्फत जान्छ । तर, अत्यावश्यक हो, ऋण दिन मिलेन, धितो पनि छैन भने यो कोष मार्फत लगानी गर्छौं ।

तरलता व्यवस्थापन कोष परिचालन कसरी हुन्छ, कस्ता सहकारीले यो कोष मार्फत ऋण पाउँछन् ?

सहकारीमा तरलताको अभाव भयो भने हाम्रो सदस्य रहेको सहकारीको हिजोको दिनमा कस्तो कारोबार थियो ? निक्षेप कति थियो ? हाम्रो लगानी कस्तो थियो ? यी विभिन्न अवस्थाहरु हामीले अध्ययन गर्छौं । यदि सो सहकारीलाई तरलताको कारण नै कुनै लगानी गर्न अर्थात व्यवसाय विस्तार गर्न समस्या भइरहेको छ, उ सँग धितो पनि छैन भने हामीले त्यस्ता सहकारीलाई विनाधितो नै ऋण लगानी गर्छौं । हाम्रो मुख्य ध्येय भनेको तरलताको अभावको कारणले उनीहरु बन्द हुने अवस्था नआओस् भन्ने हो । लगानीको रकम अनुसार नै धितो तोकेका छौं । १ करोड हो भने धितो नराख्नु पर्ने हुन्छ । ५ करोड रुपैयाँ हो भने धितो राख्नु पर्ने हुन्छ । यसका लागि हामीले कार्यविधि नै बनाएर मापदण्डहरु तोकेका छौं ।

जतिखेर बैंकिङ क्षेत्रमा प्रयाप्त रुपमा लगानीयोग्य रकम थियो त्यतिखेर सहकारीहरुले लगानी गर्न सकेनन् जब अहिले तरलताको समस्या आयो सहकारीले लगानी गर्ने मौका छोप्दै एग्रेसिभ रुपमा ऋण प्रवाह गर्दा पनि सहकारीमा तरलताको संकट उत्पन्न हुन थाल्यो भन्ने विषय पनि आएको छ नी, यो कत्तिको यथार्थ हो ?

अवश्य नै हो, केही साथीहरुले गलत गर्नु भयो । बैंकहरुले नै पहिलो त्रैमासमा एग्रेसिभ लगानी गरे । यसले सहकारीलाई लगानी गर्न समस्या भएको स्वभाविक हो । २० प्रतिशत तरलता राख्नु पर्नेमा ५ प्रतिशत मात्रै राखेर लगानी गर्नु नै समस्या उत्पन्न गराउनु हो । अहिले हामीले कम्तिमा २० प्रतिशत तरलता राखेर लगानी गर्न अनुरोध गरेका छौं । बैंकहरुले जसरी एग्रेसिभ लगानी नगर्न आग्रह गरेका छौं । यो तरलताको अभाव कहिलेसम्म रहन्छ । किन जोखिम लिने भनेर हामी भन्दै आएको छौं ।

सरकारले सहकारीको सन्दर्भ व्याजदर १४.७५ नै तोकेको छ । तर, कतिपय सहकारीहरुले त्यो सीमालाई नै नाघेर लगानी गरेको पनि सुनिन्छ नी ?

कतिपयले त्यस्तो काम गरेका होलान् । बद्मासी सबै ठाउँमा हुन्छ । तर, त्यो गलत हो । त्यस्तो काम गर्नु भनेको आफै माथि जोखिम निम्त्याउनु हो । हामीले अहिले अब सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन गर्नु पर्छ भनेर आवाज उठाउँदै आएका छौं । बैंक तथा वित्तीय संस्थाले नै १२÷१३ प्रतिशतमा दिइरहेका छन् भने यो सहकारीका लागि कम नै हो । त्यसैले व्याजदर बढाउनु पर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं । यसका लागि १५ गते सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको बैठक बस्दैछ । हाम्रो माग भनेको २ प्रतिशत बढाउनु पर्छ भन्ने हो । त्यो बेठकले केही निर्णय गर्ला । बैंक तथा वित्तीय संस्थाले पनि बढाएको कारणले पनि सहकारीको व्याजदर बढाउनै पर्छ ।

राष्ट्रिय सहकारी बैंकको समग्र विजनेस कस्तो छ ?

हामी हाम्रो विजनेप्रति सन्तुष्ट छौं । हामीले जति लक्ष्य लिएका थियौं । हामीले लक्ष्य भेटाएका छौं । वार्षिक रुपमा बैंकको ग्रोथ बढ्दै गइरहेको छ । गत असारसम्मको व्यालेन्ससिट आइसकेको छ । हामीले गत वर्ष ६० अर्ब रुपैयाँसम्म निक्षेप संकलन गर्ने योजना बनाएका थियौं निक्षेप ६६ अर्ब रुपैयाँ पुर्याएका छौं । ६०/६२ अर्बको व्यालेन्सटि बनाउने लक्ष्य थियो । लक्ष्य भन्दा पनि बढी ७२ अर्ब रुपैयाँको व्यालेन्ससिट बनेको छ । त्यस्तै, कर्जा लगानी पनि बढेको छ । लाभांश पनि १५ प्रतिशत दिन सकिँदैन कि जस्तो लागेको थियो, १५ प्रतिशत दिन सक्षम भयौं । सदस्य संख्या पनि १४ हजारभन्दा बढी पुर्यायौं ।

हामी हरेक सूचकमा माथि उक्लिरहेका छौं । हामीले झण्डै ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौं । सन्दर्भ व्याज तोक्नेदेखि ऐन नियममा लविङ लगायत विषयमा हाम्रो संलग्नता छ । एसिया प्रशान्तमै सञ्जाल भएको भारतको निराक भन्ने संस्थाले नै हामीलाई यो वर्ष पुरस्कृत गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, बैंकको विजनेस, नीति नियममा लविङ लगायत विषयमा हामी अगाडि बढ्दै गएका छौं ।

हामीले निरन्तर दुई वर्ष कोरोना भाइरसको संकट भोग्यौं, यो संकटमा कतिपय बैंकको विजनेस खस्कियो पनि । तर, राष्ट्रिय सहकारी बैंकको हरेक सूचकांकको ग्राफ बढ्दै गइरहेको छ, यो कसरी सम्भव भयो ?

हामीलाई कोरोनाले खासै असर परेन । हामीले राष्ट्र बैंकले दिनु भनेको छुट दियौं । व्याजदर पनि कम गर्यौं । हर्जानाको सूचना पनि निकालेनौं । कुनै लिलाम पनि गरेनौं । यति हुँदा हुुँदै पनि सम्पूर्ण कर्मचारी साथीहरुको असल समन्वयले हामीलाई खासै असर परेन । यदि राष्ट्र बैंकले भनेको सुविधा नदिएको भए नाफा झन बढ्थ्यो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, नाफाको दृष्टिकोणबाट यो प्रयाप्त हो ?

यो प्रयाप्त हो । ९० प्रतिशत बैंक तथा वित्तीय संस्थाले पनि १५ प्रतिशत लाभांश दिन सक्दैनन् । हामीले बैंकले गरेको नाफा अनुसार सम्पूर्ण लगानीकर्तालाई पनि खुसी नै बनाएका छौं ।

बैंकको कुल निक्षेप ६६ अर्ब छ, कर्जा लगानी करिब साढे ३५ अर्ब छ, निक्षेप र कर्जाबीच यति धेरै भिन्नता किन ?

हामीसँग सर्टटर्म कर्जा बढी हुन्छ । मुद्दती निक्षेप एकदमै कम हुन्छ । आज जम्मा गरेर भोलि निकाल्ने निक्षेप हाम्रोमा बढी हुन्छ । अर्को भनेको अहिले तरलताको अभावमा काम लागेको छ । हामीसँग ३६ प्रतिशत तरलता थियो । अहिले २०/२२ प्रतिशतमा सीमित भएको छ । सहकारी होलसेल निक्षेप र होलसेल नै कर्जा लगानी गर्ने भएकोले हामीले तरलताको बढी नै राख्नु पर्ने हुन्छ ।

तपाईं आफै पनि अब राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धा वाणिज्य बैंकहरुसँग हो भन्नुहुन्छ । तर, पुँजी ३ अर्ब मात्रै छ, पूँजी वृद्धि बारे केही योजना बनाउनु भएको छ ?

हामीले वार्षिक साधारणसभामा पूँजी वृद्धिको प्रस्ताव पनि लिँदैछौं । साधारणसभाबाट विनियम संशोधन गरेपछि मात्रै पुँजी वृद्धिको प्रक्रिया अगाडि बढ्छ । अहिले सेयर बन्द छ । खासगरी सहकारीको सेयर बन्द हुँदैन । अब ८ अर्ब रुपैयाँको प्रस्ताव लिँदैछौं । त्यसपछि हाम्रो प्रतिस्पर्धा वाणिज्य बैंकसँग हुन्छ । बोर्डले पास गरिसकेको छ । त्यसपछि सहकारी विभाग र राष्ट्र बैंकबाट स्वीकृती दिइसकेपछि साधारणसभाबाट पास हुन्छ । राष्ट्र बैंक र सहकारी विभाग पनि पुँजी बलियो हुनु पर्छ भनेर पुँजी वृद्धिको विषयमा सकारात्मक छन् ।

८ अर्बको पूँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

विनियम संशोधन गरिसकेपछि हामीसँग जो–जो सदस्यका रुपमा हुनुहुन्छ, उहाँहरुले थप गर्नुहुन्छ । अहिले सेयर थप्ने धेरैले मनसाय बनाउनु भएको छ ।

तपाईंहरु बेला बेला सहकारी बैंकको नियमन, प्रवद्र्धन र सुरक्षण पनि राष्ट्र बैंकले नै गरिदिओस् भनेर माग गर्दै आउनु भएको छ । तर, राष्ट्र बैंक तपाईंहरुको प्रस्ताव मान्न तयार छैन, किन ?

अहिले राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरु कम्पनी ऐन मार्फत दर्ता भएर गएका छन् । तर, हामी सहकारी ऐन मार्फत दर्ता भएका छौं । राष्ट्र बैंकले हामीलाई कम्पनी ऐन मार्फत दर्ता भएर आउनु भन्छ । हामी सहकारी ऐन मार्फत दर्ता भएर राष्ट्र बैंकको नियमनमा बस्न चाहन्छौं । राष्ट्र बैंकले हामीलाई कम्पनी ऐन मार्फ दर्ता भएर पहिला विकास बैंक र त्यसपछि वाणिज्य बैंक बन भन्छ । हामीलाई ‘ए’ वा ‘बि’ क्लास चाहिएन, हामी सहकारी क्षेत्रमै काम गर्छौं भनिरहेका छौं । तर, पूरा अनुगमन राष्ट्र बैंकले गरिदियोस् भन्ने हाम्रो माग हो । सरकारले नै ५० करोड भन्दा बढी पूँजी भएका वित्तीय संस्थालाई राष्ट्र बैंकलाई नियमन गर्न भनेको छ । तर, राष्ट्र बैंक बरु विज्ञ दिन्छौं तर अनुगमन गर्दैन भनिरहेको छ ।

सहकारीका आफ्नै ऐन नियमहरु छन् । यसको नियामक निकाय नै सहकारी विभाग हो । यसमा कारवाही, जरिवाना वा खारेजीकै आफ्नै व्यवस्था छन् । त्यसैले पनि राष्ट्र बैंक मान्न तयार नभएको हुन सक्छ । तर, अहिले पनि राष्ट्र बैंकले गरिनै रहेको छ । हाम्रो माग भने पूर्ण नियमन राष्ट्र बैंकले नै गरोस् भन्ने हो । राष्ट्र बैंकले हेरर्यो भने विश्वास बढ्छ ।

तपाईं राष्ट्रिय सहकारी बैंकको अध्यक्ष भएर आइसकेपछि मैले यो बैंकको बैंकको प्रगतिका लागि यो काम गरेँ भन्ने खालको के ही काम छ ?

पहिला त बैंक भनेपछि निक्षेप र लगानी नै हो । बैंकको व्यालेन्ससिटमा कत्तिको प्रगति भयो भन्ने विषय पनि हो । त्यसपछि बैंकको नाफा बढ्यो कि बढेन ?सदस्यहरु बढे कि बढेनन् भन्ने विषय पनि आउँछ । यी विभिन्न सूचकहरुमा निकै प्रगति भएको छ । म आएपछि यसको पहुुँच पनि धेरै बढेको छ । अहिले राष्ट्रिय सहकारी बैंकको ७ वटै प्रदेश र ७७ वटै जिल्लामा कभरेज छ । कुल सहकारीको ५० प्रतिशत बढीमा हाम्रो पहुँच छ । अर्को महत्वपूर्ण विषय भनेको सहकारीमा रहेका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायमा के कस्तो पहल भयो भन्ने पनि प्रमुख विषय हो । सहकारीको रकम सहकारीकै राख्नका लागि राष्ट्रिय सहकारी बैंकले ठूलो भूमीका खेलेको छ ।

अहिले सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी बैंक एउटा मात्रै बैंक छ, स्वस्थ प्रतिस्पर्धाका लागि अर्को साथी पनि चाहिन्छ भन्ने लाग्दैन ?

यो बैंकको प्रकृति नै फरक छ । यसमा सहकारी संस्थाहरुले मात्रै कारोबार गर्छन् । जस्तै ललितपुरमा ८ सय वटा सहकारी छन्, त्यसको ९० प्रतिशत सहकारी हामीसँग छन् भने अर्को बैंक आएमा त्यो ९० प्रतिशत नै बाँडिन सक्छ । पहिला त अर्को के का लागि भन्ने ब्झन् आवश्यक छ । सेवा कमजोर भएर होकी ? उनीहरुको व्याजदर कम भएर होकी ? लविङ नपुगेर होकी ? सहकारीहरु बैंकको बोर्डमा जान नपाएर होकी ? हामीले नेतृत्व हस्तान्तरण गरिदिनु पर्ने होकी ? कर्मचारी राम्रो नभएर होकी ? कुनै क्षेत्रमा पहुँच नपुगेर होकी ? के–के कमि कमजोरीका कारण अर्को बैक चाहिएको हो वा ल्याउन खोजिएको हो ? यी सबै समस्याहरु छन् भने पनि ती समस्याहरु हामी पनि समाधान गर्न तयार छौं । अन्य बैंक तथा वित्तीय संस्थाहरुमा अर्को संस्था आउन समस्या छैन । तर, सहकारी क्षेत्र होलसेल विजनेस हुने क्षेत्र हो । ऐनमै भएको विषयलाई पाइँदैन भन्न त मिल्दैन । तर, यसैलाई सक्षम बनाऔं भन्ने हो । यसले पनि कतिपयय एलसी, बैंक ग्यारेन्टीको काम गर्न पाएको छैन । सबै मिलेर ती कामहरु गरौं । तर, अर्को बैंक किन आवश्यक भन्ने हो ।

अहिले देशभर ३० हजार सहकारीहरु छन् । तर, राष्ट्रिय सहकारी बैंकको पहुँच १४ हजारमा मात्रै छ । यो हिसावले त अर्को बैंकको पनि आवश्यकता देखियो नी हैन ?

नयाँ बैंक आउने बित्तिकै हुम्ला–जुम्ला लगायतका विकट जिल्लामा खोल्ने होइन । भएकै बजारमा विजनेस गर्ने हो । अहिले जहाँ कम सहकारी छन् त्यहाँ हामी घाटामा छौं । अहिले सहकारी कम भएका र विकट ठाउँमा शाखा खोलेर धान्न सकिँदैन । नयाँ बैंक खोल्नका लागि ऐनमा पनि राष्ट्र बैंकले पुँजी निर्धारण गरेर स्वीकृती दिनु पर्छ । सबै प्रदेशको बहुमत सदस्य त्यहाँ हुनु पर्छ । म राष्ट्रिय सहकारी महासंघमा पनि छ । सोही महासंघले पनि सिफारिस गर्नु पर्छ । अर्को खोल्छु भनेर जति सजिलो छ काम गर्न एकदमै कठीन छ । अहिले हाम्रो बैंक सर्वपक्षीय भएको छ । सबैको प्रतिनिधित्व यस बैंकमा छ । अर्को बैंक् किन चाहियो ?

आगामी दिनमा राष्ट्रिय सहकारी बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, योजनाहरु के–कस्ता छन् ?

अब हामी १६ गतेदखि विभिन्न प्रादेशिक कार्यालय भएको ठाउँमा साधारणसधा गर्दैछौं । सोही साधारणसभामा पनि हामी बैंकले गरेका र गरिरहेको कामहरु पनि बताउँछौं । उहाँहरुको सुझाव पनि लिन्छौं । अरु भन्दा पनि अब बैंकको विजनेस बढाउने नै हो । बैंकलाई नयाँ प्रविधिमा लैजाने विषय पनि छ । उत्पादन प्रशोधन तथा बजारिकरणलाई बढी प्राथमिकता दिने नै हाम्रो काम हुन्छ । विशेष गरेर अब सहकारीहरुमा पनि डिजिटल भुक्तानी तथा प्रविधिको विकास गर्न तर्फ पनि हाम्रो ध्यान जानेछ ।

सदस्यहरूको दीगो विकासका लागि नविनतम प्रविधिसहित प्रतिस्पर्धी एवम् गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्ने, नेतृत्व एवम् व्यावसायीक जनशक्ति विकास र परिचालन गरी जिम्मेवार व्यवसाय सञ्चालन मार्फत बैंक र सदस्यहरुमा संस्थागत सुशासन कायम गर्ने, सहकारी क्षेत्रको व्यावसायिकता विकासका लागि सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा निरन्तर बहस पैरवी गर्ने हाम्रो ध्येय हो । सोही अनुसार काम गर्दै जानेछौं ।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.