गगन–विश्वप्रकाशले काँग्रेसमा जित्दा खुसीले किन उफ्रिए सम्पादकहरु ?

  २०७८ पुष ९ गते १०:५०     शिव सत्याल

नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा (गगन–विश्वप्रकाश) ले चुनाव जित्दा नेपालका धेरै जना सम्पादकले खुसी मनाएको भाव व्यक्त गरे । केही सम्पादकले टिप्पणी, विचार र सम्पादकीय नै लेखे । केहीले सामाजिक संजालमा भावना व्यक्त गरे । केहीले आफ्नै न्युजरुम र साथीभाइसँग खुसी साटासाट गरे ।

गगन–विश्वप्रकाशले काँग्रेस महामन्त्री जित्दा समर्थनमा केही लेख्न मलाई पनि मन लागेको थियो । तर, निर्वाचनको परिणाम आउने वित्तिकै उनीहरुको पक्षमा केही लेख्नु भनेको काशीको गंगा आरतीमा थपडी बजाउनु जस्तै थियो । काशीको गंगा आरतीको बेलामा यस्तो भिड हुँदो रहेछ कि कसले थपडी बजाउँछ, कसले बजाउँदैन भन्ने थाहै हुदोरहेनछ । एकपटक सहभागी भएकोले यसमा मेरो आफ्नै अनुभव छ ।

सामाजिक संजालमा लेख्न मन लागेन । किनभने म आफै संलग्न भएको विकासन्युजमा मलाई लागेको कुरा लेख्न सकिहाल्थें ।

गगन–विश्वप्रकाश पहिला नै नेता थिए । निर्वाचन परिणाम आएपछि देवता बनाउने प्रयत्न सामाजिक संजालमा देखियो । उनीहरुको देवत्वकरण भयो । गगन–विश्वप्रकाश अहिले देवता भएका छन् । त्यसैले देवताको बारेमा बेलैमा केही लेखिएनछ, नर्क परिन्छ कि संसय बेलाबेलामा उत्पन्न हुन्छ ।

तर, गगन–विश्वप्रकाशका प्रशंसकहरुलाई मेरो अहिले पनि आग्रह छ– कृपया उनीहरुलाई सक्नुहुन्छ भने मान्छे नै रहन दिनुस्, मान्छे मात्रै रहन दिन सक्नुहुन्न भने कम्तिमा पनि नेता मात्रै बनाउँनुस् । देवता बनाउने धृष्टता नगरिदिनुस् न ‘प्लिज’ ।

अब मुल विषयमा लागौं– गगन–विश्वप्रकाशले काँग्रेसमा जित्दा खुसीले किन उफ्रिए सम्पादकहरु ? के हो उनीहरुको खुसीको खास कारण ?

यसका कारण छन् ।

२००७ सालमा नेपाली काँग्रेसले उठाएको संविधानसभा मार्फत संविधान बनाउने मुद्दालाई तत्कालिन नेकपा माओवादीले २०५१ सालमा ‘जनयुद्ध’ सुरु गर्दै बोक्यो । २०६२ सालमा माओवादी ‘जनयुद्ध’ सकिएपछि ०६४ मा संविधानसभाको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० मा दोस्रो निर्वाचन भयो । अनि दोस्रो संविधानसभाले २०७२ सालमा अहिले कार्यान्वयनमा रहेको संविधान बनायो ।

गगन–विश्वप्रकाशका प्रशंसकहरुलाई मेरो अहिले पनि आग्रह छ– कृपया उनीहरुलाई सक्नुहुन्छ भने मान्छे नै रहन दिनुस्, मान्छे मात्रै रहन दिन सक्नुहुन्न भने कम्तिमा पनि नेता मात्रै बनाउँनुस् । देवता बनाउने धृष्टता नगरिदिनुस् न ‘प्लिज’ ।

संविधानसभा मार्फत संविधान बनाउने मुद्दा नागरिकलाई राजनीतिक अधिकार प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । संविधानसभाले संविधान बनाइसकेपछि नागरिकको राजनीतिक अधिकार प्राप्तिको विषय एक प्रकारले टुंगोमा पुगेको मान्नुपर्छ । संविधानमा केही विषय मिलेका छैनन्, केही विषय छुटेका छन्, केही विषय थप गर्नुपर्ने छ भने संविधान संशोधन मार्फत गर्न सकिन्छ । नागरिकको राजनीतिक अधिकार प्राप्तिको संघर्ष २०७२ मा संविधानसभाले संविधान निर्माण गरेसँगै सकियो । यद्यपि, सुधार, परिमार्जन र समसामयिक बनाउने आवश्यकता रहन्छ नै ।

लामो राजनीतिक संघर्षबाट नेपाली नागरिक राजनीतिक अधिकार प्राप्तिको लडाईमा सफल भइसकेका छन् । अब आर्थिक, सामाजिक र सास्कृतिक अधिकार प्राप्तिको लडाई वा संघर्ष आवश्यक छ । यसको तयारी थाल्न ढिला भइसकेको छ ।

राजनीतिक अधिकारको लागि नेतृत्व गरेका नेताहरु नै अहिले सबै दलमा निर्णायक छन् । प्रधानमन्त्री बन्ने उनीहरु नै हुन् । प्रमुख राजनीतिक दलहरुको पदाधिकारीको नाम चर्चामा आउँदा पनि उनीहरुकै आउँछ । तर, आर्थिक, सामाजिक र सास्कृतिक अधिकारको लडाई वा संघर्ष फरक प्रकतिको संघर्ष हो । यसमा राजनीतिक अधिकार प्राप्तिको संघर्षमा नेतृत्व गरेका नेताहरु योग्य देखिदैनन् । आर्थिक, सामाजिक र सास्कृति अधिकारको लागि हुने संघर्षका लागि नयाँ नेतृत्व र सकेसम्म नयाँ संरचनाको दल नै आवश्यक छ ।

आर्थिक, सामाजिक र सास्कृतिक संघर्षको लागि नयाँ दल तयार हुन सकेनन् । राजनीतिक अधिकारको लागि संघर्षको नेतृत्व गरेका दलहरुबाटै नयाँ नेतृत्वको खोजी गर्नुपर्ने आवश्यकता देखियो । संविधानसभाबाट संविधान बनेपछिको नेपालको वस्तुगत धरातलको विश्लेषण गर्ने हो भने नेपालले आर्थिक, सामाजिक र सास्कृतिक संघर्ष एकदमै धिमा गतिमा गर्ने रहेछ भन्ने पुष्टी हुन्छ । त्यसैले राजनीतिक अधिकारको लागि नेतृत्व गरेका दलबाट नयाँ नयाँ व्यक्तिहरु नेतृत्वमा आर्थिक, सामाजिक र सास्कृतिक संघर्ष अलि छिटो हुन्छ कि भन्ने आशले काँग्रेस महामन्त्रीमा गगन–विश्वप्रकाशले चुनाव जित्दा सम्पादकहरु खुसीले उफ्रिएका हुन् । अब विकास हुन्छ कि, नभएपनि यो अभियान सुरु होला कि भनेर दंग परेका हुन्, जुन स्वभाविक नै हो ।

अहिलेको आवश्यकता देखिएको र नेपालले माग गरिरहेको आर्थिक, सामाजिक र सास्कृतिक संघर्षको नेतृत्व गगन–विश्वप्रकाशबाट सम्भव छ ? मुल प्रश्न यो हो ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका गगन थापा आफ्ना प्रायः भाषणहरुमा राजनीतिक विषय समावेश गर्छन् । उनी आफूले भन्न खोजेको कुरा सुन्नेले बुझ्ने गरी भन्न सक्छन् । विपक्षी दल र नेतामाथि कडा टिप्पणी गर्छन् । उनका अहिलेसम्मका सार्वजनिक मन्तव्यहरुमा राजनीतिक विषय नै बढी समावेश भएका पाइन्छ । उनको बढी चासो राजनीतिक विषयवस्तुमा देखिन्छ ।

समाजशास्त्रमै स्नातकोत्तर गरेका विश्वप्रकाश शर्मा सामाजिक विषयवस्तुमा बढी चासो देखाउँछन् । तर, शर्मा राजनीतिक विषयवस्तु त्यति चासो दिदैनन् भन्न खोजिएको भने होइन । चासो बढी सामाजिक विषयवस्तुमा पनि छ भन्ने मात्रै हो ।

अबको नेपालको आवश्यकता आर्थिक, सामाजिक र सास्कृतिक संघर्षको हो । आर्थिक विकास अबको राजनीतिको मुल उदेश्य र लक्ष्य हुनुपर्ने आवश्यकता नेपाल र नेपालीले महसुस गरेका छन् । तर, २०४८ सालको आम निर्वाचनपछि नेपाली काँग्रेसका नेताहरु महेश आचार्य र डा. रामशरण महतले सुरु गरेको आर्थिक सोँचलाई नेपाली काँग्रेस नै अपनत्व ग्रहण गर्न लजाउँछ । त्यतिबेला आचार्य (तत्कालिन अर्थराज्यमन्त्री) र डा. महत (राष्ट्रिय योजना आयोगका तत्तकालिन उपाध्यक्ष) ले सुरु गरेको उदारीकरण र निजीकरणले नै अहिलेसम्म नेपालको अर्थतन्त्र थेगेको छ ।

आचार्य–महत जोडीले खुल्ला गरेको अर्थतन्त्रका ९ क्षेत्र नै अहिलेको अर्थतन्त्रको जग हो, मियो हो ।

आचार्य–महत जोडीले अवलम्बन गरेको आर्थिक नीतिको काँग्रेस नेताहरु नै विरोधमा सुनिन्छन् । अहिलेसम्म नेपालको अर्थतन्त्र थेगेको सो नीतिप्रति गगन–विश्वप्रकाशको धारणा के हो ? २०४८ सालतिर सुरु गरिएको आर्थिक उदारीकरण र निजीकरणले अहिलेसम्म नेपालको अर्थतन्त्र धानेको छ भनेर गगन–विश्वप्रकाशहरु भन्न सक्छन् कि सक्दैनन् ? निजीकरणका केही घटनामा देखिएको कमजोरीलाई कारण देखाएर आचार्य–महत जोडीमाथि (खास गरेर डा. महतमाथि) आरोपको वर्षा हुँदा त्यसमा भएको सत्य वताउँन गगन–विश्वप्रकाशको जोडी तयार हुन्छ कि हुँदैन ? यस्ता प्रश्नको जवाफ व्यवहारमा देखिएपछि गगन–विश्वप्रकाशले काँग्रेस महामन्त्री जित्दा खुसी हुनु ठिक थियो कि थिएन भनेर भन्न सकिन्छ ।

आचार्य–महत जोडीले अवलम्बन गरेको आर्थिक नीतिको काँग्रेस नेताहरु नै विरोधमा सुनिन्छन् । अहिलेसम्म नेपालको अर्थतन्त्र थेगेको सो नीतिप्रति गगन–विश्वप्रकाशको धारणा के हो ? २०४८ सालतिर सुरु गरिएको आर्थिक उदारीकरण र निजीकरणले अहिलेसम्म नेपालको अर्थतन्त्र धानेको छ भनेर गगन–विश्वप्रकाशहरु भन्न सक्छन् कि सक्दैनन् ?

विगतका विषय सधैभरी सही र उपयुक्त भइरहन्छन् भन्ने होइन । अहिले नेपालको अर्थव्यवस्था फेरि संकटमा परेको सुचकहरुले देखाइसकेका छन् । वर्तमान अर्थमन्त्री जनार्दन शर्मा, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अहिलेको आर्थिक संकट निवारणको आशा गर्न सकिने अवस्था करिब सकियो । अहिले नेपालले भोगिरहेको आर्थिक संकट निवारणको लागि गगन–विश्वप्रकाशले अब कसलाई कसरी अघि सार्छन्, जसरी २०४८ को सुधारका लागि गिरिजा प्रसाद कोइरालाले आचार्य–महतको जोडीलाई अघि सारेका थिए ।

डा. महत नेपालमा धेरै पटक अर्थमन्त्री बने । आर्थिक उदारीकरणको विषयमा नभएपनि निजीकरणको विषयमा उनको अहिले पनि आलोचना हुने गरेको छ । तर, विश्व मानचित्रमा असाध्यै सानो र कम भूमिकामा रहेको नेपाल जस्तो देशको अर्थमन्त्रीले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्तो निकायको नीति नै परिवर्तन गराइदिएका थिए । डा. महतको विशेष पहलमा परिवर्तन भएको आईएमएफको नीति थियो–विभिन्न कारणले अर्थतन्त्र समस्यामा परेका देशलाई बजेटरी सहयोग खुल्ला गर्ने ।

२०७२ को शक्तिशाली भूकम्पको कारण नेपालको आर्थिक अवस्था कमजोर भयो । सो समय नेपालको अर्थमन्त्री डा. महत थिए । उनकै विशेष अनुरोधमा आईएमएफले नेपाललाई बजेटरी सहयोग अन्तरगत ऋण दिएको थियो । सोभन्दा अघि आईएमएफले शोधनान्तर स्थिति (बीओपी) सहयोग अन्तरगत मात्रै ऋण प्रदान गर्ने गरेको थियो ।

अहिले गगन–विश्वप्रकाशलाई जसरी देवत्वकरण गरिएको छ, त्यसको उल्टो केही समयभित्रै राक्षसीकरण गरिने खतरा पनि छ । किनभने उनीहरु पनि मानिस हुन् । यही समाजका मानिस हुन् । हाम्रो परिवेश यही हो । उनीहरुका पनि सीमा, वाध्यता र सिमितताहरु छन् ।

डा. महतको विशेष अनुरोधमा कुनै पनि देशलाई आवश्यक परेको बेलामा आईएमएफले बजेटरी सहयोग दिन थालेको छ । आईएमएफको सो सहयोगबाट अहिले धेरै देशले लाभ लिइरहेका छन् । गगन–विश्वप्रकाशको काँग्रेसले अवका दिनमा आईएमएफ, विश्व बैंक, एसियाली विकास बैंक जस्ता अन्तराष्ट्रिय संस्था र निकायको नीतिगत विषयमा पहुँच राख्ने काबिल नेपालीलाई आर्थिक क्षेत्रको नेतृत्वदायी भूमिका दिन सक्छ कि सक्दैन, त्यो पनि प्रतिक्षाको विषय भएको छ ।

अहिले नेपालीका अपेक्षा धेरै छन् । अविकास, पछौटेपन र आर्थिक दुष्चक्रबाट नेपाललाई उकासेर नेपालीको जीवनस्तर माथि लाने राजनीतिक दल र नेताको खोजी भइरहेको छ । यो कार्य तत्काल र छिटो सम्भव देखिदैन । गगन–विश्वप्रकाशको टीमले आर्थिक, सामाजिक र सास्कृतिक संघर्ष सुरु गरेपनि त्यसको लागि समय लाग्छ । अहिले नेपालीको आवश्यकता र अपेक्षा हेर्दा उनीहरुलाई धेरै समय दिने धैर्यता कसैसँग देखिदैन । अहिले गगन–विश्वप्रकाशलाई जसरी देवत्वकरण गरिएको छ, त्यसको उल्टो केही समयभित्रै राक्षसीकरण गरिने खतरा पनि छ । किनभने उनीहरु पनि मानिस हुन् । यही समाजका मानिस हुन् । हाम्रो परिवेश यही हो । उनीहरुका पनि सीमा, वाध्यता र सिमितताहरु छन् । यही कारण गगन–विश्वप्रकाशलाई सकेसम्म मानिस, त्यो सकिदैन भने नेता मात्रै बनाउँ भनेको हूँ, देवत्वकरण नगरौं । बाँकी कुरा त हेर्दै जाउँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.