नारायणीको कथाः जसको सहयात्री ढले तर साहस ढलेन

  २०७८ मंसिर २८ गते १४:११     सन्तोष रोकाया

काठमाडौं । १४ वर्ष अगाडि बर्दघाट नवलपरासीकी नारायणी कोइराला र उनका श्रीमान मेघनाथ कोइरालाको दैनिकी दिनभर पसलमा व्यापार गर्दै बित्थ्यो ।

नयाँ–नयाँ विवाह, कस्मेटिक व्यापार, पसलमा भएको कस्मेटिकका सामान किन्न आउने सुन्दर जोडीहरु र अन्य ग्राहकहरुबीच गफिँदै बित्थे मेघनाथ र नारायणीका दिनहरु ।

नयाँ–नयाँ विवाह भएकोले पनि हुन सक्छ मेघनाथ र नारायणीका अधिकांश दिनहरु हाँसी मजाकमै बित्थे । ग्राहक नआएपछि प्रेमिल गफहरु गर्दै उनीहरु समय कटाउँथे ।

२०५९ सालमा विवाह बन्धनमा बाँधिएका उनीहरुले त्यसको एकवर्ष पछि अर्थात २०६० सालमै छोराको जन्म दिए । छोराको जन्मले उनीहरुको जीवनमा थप खुसी छायो । तर, छोराको जन्मपछि उनीहरु एक अर्कालाई कम समय दिन थाले । स्वभाविकै हो, नारायणीलाई छोराको हेरचाहमै समय बित्न थाल्यो । तर, एक÷दुई वर्ष पछि भने छोरालाई नै पसलमा लिएर उनी पनि व्यापार गर्न थालिन् ।

मेघनाथ र नारायणीको विवाह पुरानिएको थिएन । थप यति मात्रै कि पसलमा उनीहरुको गफिने विषय छोरा बनेको थियो । छोराको जन्मपछि केही जिम्मेवारी थपिएको पनि मेघनाथले महसुस गरे । र, उनीहरुले व्यापारलाई बढाउने योजना बनाए ।

मेघनाथ पसलका लागि थप सामान ल्याउन काठमाडौं लागे । नारायणी पसलमै बसिन् । छोरा नारायणीको सासुले सम्हालिन् । पसलको सामान बढाउँछु भनेर काठमाडौं लागेका मेघनाथ कहिल्यै घर फर्केनन् । भनिन्छ नि, ‘समय सझैँ एकनास र सोचै जस्तै कहाँ हुन्छ र ।’

विवाह भएको ६ वर्षमै नारायणीको जीवनको साहारा खोसियो । अर्थात उनले २०६५ सालमा श्रीमान मेघनाथ कोइरालालाई गुमाइन् । पसल बढाउने योजनाका साथ काठमाडौं लागेका मेघनाथको बस दुर्घटनामा परेर मृत्यु भयो ।

‘दुर्घटनामा परेको सुन्दा मैले विश्वास नै गरेको थिइनँ तर, सत्यलाई स्वीकार गर्नै पर्छ, विवाह गरेको ६ वर्षको उमेरमै मैले श्रीमान गुमाएँ, सहयात्री गुमाए पनि मैले साहस गुमाइनँ, बरु श्रीमानको व्यापार बढाउने सपनालाई साकार गर्न तर्फ लागेँ,’ नारायणीले आफ्नो कहानी सुनाउँदै भनिन् ।

आजभोली नारायणीको दिन फेरिएका छन्, तर, दैनिकी फेरिएको छैन । हिजो श्रीमानसँगै गफिने उनी आजभोली छोरासँगै गफिन्छन् । हिजो श्रीमानसँग प्रेमिल गफ गर्ने उनी आजभोली छोरालाई उद्यमीका कुरा सिकाउँछिन् र उनको बुबाले देखेको सपनाको बाटो देखाउँछिन् ।

हुनत नारायणीले उनको श्रीमानले देखेको सपना पुरा गरिसकेकी छन् । श्रीमानको मृत्युपछि पनि उनले नवलपरासीको बर्दघाट ४ को हाट बजारमै पसल सञ्चालन गरिरहेकी छन् । त्यससँगै उनले अहिले आफ्नै पक्की घर बनाएर अन्य ठाउँमा पनि जग्गा जोडिसकेकी छिन् ।

५ ठाउँमा घडेरी दुई तले घर

नारायणी कोइराला आफ्नो श्रीमानले देखेको सपना पूरा गर्न तर्फ लागेकी छन् । २०६५ सालमा उनको श्रीमानको मृत्यु हुनु अगाडि उनले बर्दघाटमै पक्की घर बनाउने भनेर ढलान गरेका थिए । तर, उनले त्यो ढलानलाई पूरा गर्न सकेनन् । तर, अहिले नारायणीले त्यो ढलानलाई पूर्णता दिएकी छन् ।

उनले बर्दघाटमै आकर्षक दुई तले घर ठड्याएकी छन् । श्रीमानको मृत्युपछि नै ५ ठाउँमा घडेरी खरिद गरेको पनि उनले सुनाइन् । उनका अनुसार श्रीमानको मृत्युपछि पनि उनले करोडौंको सम्पत्ति जोडेकी छन् ।

‘उहाँले (श्रीमान) पक्की घर बनाउने, जग्गा किन्ने सुनाइरहनुहुन्थ्यो, तर, उहाँ त्यसलाई पूरा नगरेरै जानु भयो, अहिले मैले दिनरात मिहेनत गरेर उहाँको सपना पूरा गर्ने तर्फ लागि रहेकी छु, छोरा पनि १२ कक्षा पढ्दैछ, उहाँको सपना पूरा गर्ने मेरो एउटै सपना छ,’ नारायणीले भावुक हुँदै भनिन् ।

सारथी बन्यो सहकारी

नारायणीको सहयात्री मेघनाथको मृत्युपछि उनको सारथीको रुपमा सहकारी अगाडि बढेको छ । बर्दघाटमै रहेको दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था अहिले नारायाणी मात्रै होइन उनी जस्तै सयौं महिलाहरुको सारथीको रुपमा काम गरिहरको छ ।

उनका अनुसार उनको यो प्रगति र उपलब्धिको पछिको कारण नै दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्था हो । १८ वर्ष पहिलेदेखि नै हाट बजारमा कस्मेटिक सामानको व्यापार गर्दै आएकी उनले सहकारीबाट नै ऋण लिएर त्यसलाई विस्तार गरिन् ।

‘मैले सुरुमा सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिएँ, व्यापारलाई बढाउँदै गएँ, यो बिचमा विभिन्न ५ ठाउँमा जग्गा किने, दुई तले घर बनाएँ, छोरालाई पढाएँ, अहिले पसलमा काम गर्ने कर्मचारी पनि राखेकी छु,’ उनले आफ्नो उपलब्धि सुनाइन् ।

उनका अनुसार सहकारीले उनी जस्तै सयौं महिलाहरुलाई दुःख सुखमा साथ दिँदै आएको छ । उनले ऋण लिने र बचत गर्ने बानी बसाल्नेदेखि वित्तीय साक्षरतासम्म सहकारीले नै सिकाएनको बताइन् ।
‘कोरोनाको महामारीमा ऋणको किस्ता तिर्न पनि समस्या भयो, मैले अहिले तिर्न सक्दिन भन्दा सहकारीले स्वीकार गर्यो, हाम्रो हरेक दुखमा सहकारीले साथ दिने गरेको छ, बचत र ऋण के हो भन्ने कुरा नसुनेको मलाई यी सबै उपलब्धि सहकारीको कारणले नै सम्भव भएको हो,’ उनले भनिन् ।

१५ लाखको लगानीमा कपडा पसल

नारायणीले हालै मात्रै आफ्नै घरमा कपडा पसल सञ्चालन गरेकी छन् । करिब १५ लाख रुपैयाँको लगानीमा आफ्नो घरमै कपडा सञ्चालन गरेको उनले बताइन् ।

‘मैले लगभग श्रीमानको सपना पूरा गरिसकेकी छु, अब हाट बजारको पसल बेचेर घरकै अर्को सटरमा पनि समान राख्ने योजना बनाएकी छु,’ उनले भनिन् ।

३९ वर्ष उमेर पुगेकी नारायणी हाँस्दै भन्छिन्, ‘अब त उमेर पनि लगभग बुढो हुने भइसक्यो जस्तो लाग्छ, हाट बजारको पसल अलि टाढा भयो, त्यसलाई बिक्री गर्ने सोच छ, अब आफ्नै घरको पसलमा सामान बढाउँछु, छोरालाई डिग्री (स्नातकोत्तर) सम्म पढाउने मन छ, अब यति सम्पत्तिले हामीलाई पुगिहाल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.