एकर्ड फर्मास्युटिकल्स आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

  २०७८ मंसिर २२ गते १४:१८     विकासन्युज

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ ।

यसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ ।

नेपालका औषधी तथा औषधीजन्य सामाग्रिहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि।सं।२०७० सालमा प्रा।लि।का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

विश्व स्वास्थ्य संगठन सिजिएम्पीको मापदण्ड तथा गाइडलाइन अनुरुप औषधी उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित् गरिएको कम्पनीले जनाएको छ ।

कूल बिल्ट अप एरिया ६० हजार वर्गफिट रहेको उद्योगको भवनबाट विभिन्न प्रकारका गुणस्तरीय औषधीहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्य सहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ ।

हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये एकर्ड फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधी उत्पादक कम्पनीको रुपमा रहने कम्पनीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.