पढाई, अनुभव, नेतृत्व क्षमता र मेरो टिम नै चुनाव जित्ने आधार- करण चौधरी

  २०७८ मंसिर २२ गते ११:४५     विकासन्युज

काठमाडाैं । उमेरले ४० कम, अनुभवले अटो व्यवसायमै १६ वर्ष, पढाइले ५ विषयमा मास्टर्स, चौधरी घरानाका प्रतिनिधि तर मेकानिकबाट करियर सुरु । त्यस्तो नाम हो, करण चौधरी । लिगेसीलाई अझ माथि लैजान र आफ्नो पहिचान उँचो बनाउन करण पुरै शक्ति खर्चिरहेका छन् । नाडा उपाध्यक्ष चौधरी आसन्न साधारणसभामार्फत् हुने नेतृत्व चयनमा अध्यक्ष पदको प्रत्यासी हुन् ।

युवा अवस्थामा नै नाडाको अध्यक्षको महत्वकांक्षा जागेको उनीमाथि टिप्पणी धैरेले गर्छन । चौधरीको तर्क छ–‘‘नेतृत्व उमेरले होइन, इच्छाशक्ति र क्षमता तय गर्छ । विदेशमा ३० वर्षका व्यक्ति प्रधानमन्त्री बनिरहँदा त्यति नै हाराहारी उमेरको मान्छे नाडाको अध्यक्ष बन्ने होडमा हुनु नौलो पक्कै होइन ।’

अनुभव र योगदानको आधारमा पनि नाडाको अध्यक्ष बन्न आफू योग्य भएको उनको भनाई छ । ‘मैले अटो व्यवसाया गरेकै १६ वर्ष भइसक्यो । म मेकानिक्सबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ । कुन नट बोल्ट कसरी खोल्ने ? कसरी फिट गर्ने ? इन्जिन एसेम्बल गर्दा पिस्टन कसरी फिट हुन्छ ? भन्ने विषयमा जो कोहीसँग जुहारी खेल्न सक्छु’ उनले भने–‘मैले नाडामा पनि धेरै वर्ष योगदान गरेको गरेको छु । विद्युतीय सवारीमा कर घटाउन होस्, कोभिडको खोप ल्याउन गरेको पहल होस्, राहत प्याकेजका लागि लबिङ गर्नुमा होस्, मैले इमान्दारिपूर्वक नाडामा नेतृत्वदाही भूमिका खेलेको छु ।’

त्यसो त उनी ठूला व्यवसायिक घरानामा जन्मिएकाले पनि अगाडि बढ्न उनलाई राम्रो अवसर मिलेको छ । आफ्नो कुशल नेतृत्वमार्फत् सुजुकीलाई मार्केट सेयरको हिसाबमा नेपालको नम्बर वान ब्रान्ड बनाउन सक्षम भएको उनको दावी छ । ‘मेरो पारिवारिक पृष्ठभूमिले पनि सहयोग गरेको छ । तर मैले विश्वविख्यात विश्वविद्यायहरुबाट आर्जन गरेको उच्च शिक्षा, निरन्तरको मिहेनत, दक्षता, परिपक्वता र व्यवस्थापकीय क्षमता सबैले देखेका छन् ।’ करणले हार्वार्ड युनिभर्सिटी, युनिभर्सिर्टी अफ पेन्सल्भेनिया, युनिभर्सिटी अफ इलिनोय र वाल्टन स्कुलबाट मास्र्टर्स अध्ययन गरेका बताए । उनले ५ वटा विषयमा मास्टर डिग्री गरेको बताए ।

मंसिर २२ र २३ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि व्यवसायीहरु २ समूहमा बाँडिएका छन् । जसमध्ये एउटा प्यानलको नेतृत्व करण चौधरीले गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष चौधरी सीजी होल्डिङ्सका कार्यकारी निर्देशक हुन् ।
सीजी होल्डिङ्सको सीजी मोटोकर्प सुजुकी गाडीको नेपालका लागि आधिकारित वितरक हो । नेपाल ल्युब आयल (गल्फ ब्रान्ड) मा पनि सीजी होल्डिङ्सको सेयर छ ।

उनी आफू नाडाको अध्यक्ष बन्ने बलियो आधारहरु भएको बताउँछन् । ‘मेरो टिममा टायर उद्योग सञ्चालक, दुईपांग्रे चारपांग्रे सवारीको एसेम्बल प्लान्ट खोल्ने उद्योगी छन् । म आफैं लुब्रिकेन्ट उत्पादक पनि हुँ । मेरो टिममा ठूला साना सबै प्रकारका व्यवसायी छन्’ उनले भने, ‘मेरो टिममा टाटा, एक्साइड ब्याट्री लगायतको आधिकारिक वितरक सिप्रदी ट्रेडिङदेखि एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्मको साथ छ । टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ छ ।मेरो टिम उद्योगी मुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ । कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, एक्साइड लगायतको साथ मसँग छ । टिममा हालका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानियाँ लगायत, हिरोका अभिक ज्योति, देवराज भण्डारी, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश पुरी, निलमणी पाठक, बरदान बस्नेतलगायत हुनुहुन्छ ।’ उनले भने–‘सबै हिसावले मैले चुनाव जित्दैछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.