स्नातक तहका विद्यार्थीलाई छात्रवृत्ति दिँदै चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन

  २०७८ मंसिर २२ गते ११:४०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् । उनीहरुले स्नातक तह बीबीएम ई बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका हुन् ।

सो सम्बन्धी फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयु) भएको छ । समझदारी अनसार प्रत्येक प्रदेशमा बीबीएम ई बिजनेश पढ्न चाहने एक जना छात्रालाई पूर्ण निःशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शतप्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने छन् ।

उक्त समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका हुन् । चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपैयाँ सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।

चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताए । लक्षित वर्गमा सो सहयोग रकम पुगोस् भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ ।

सुचना प्रविधिको विकाससंगै अबको दिनमा ई बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । खल्ती वालेटसंगको सहकार्यमा पढाई पुरा गरेका विद्यार्थीलाई रोजगारी समेत उपलब्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ विनय खड्काले ई बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तीले २ वर्षसम्म सःशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दिपक काजी तुलाधरको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.