टेलिकमका एमडी अधिकारीको कार्यकाल सकिदै, नयाँ छनोटका लागि आवेदन खुल्ला

  २०७८ मंसिर २२ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक (एमडी) छनोटको प्रक्रिया अघि बढाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिन लागेसँगै नयाँ एमडी छनोटको प्रक्रिया अघि बढाईएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको नयाँ एमडी छनोट तथा सिफारिसका लागि मंगलबार एक समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छनौट तथा सिफारिस समिति गठन गर्दै सरकारले टेलिकममा नयाँ प्रबन्ध निर्देशक ल्याउने तयारी अघि बढाएको हो । अर्यालको संयोजकत्वमा गठित उक्त समितिमा मन्त्रालयकै एकजना सहसचिव र एक जना विज्ञ रहनेछन् ।
सो समितिले आज एक सूचना जारी गर्दै कम्पनीको नयाँ प्रबन्ध निर्देशकका लागि खुल्ला दरखास्त माग गरेको छ ।

सूचना अनुसार एमडीका लागि आवेदन दिनका लागि ३५ वर्षपूरा भई ५६ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै, टेलिकम, सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष सहित १२ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।

उम्मेदवारले पेस गरेको व्यवसायिक कार्ययोजना र सोको प्रस्तुती, शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ताको मूल्यांकनका आधारमा नियुक्तिका लागि मन्त्रालय समक्ष पेश गर्ने जनाएको छ ।

तोकिएको कागजपत्रका साथमा नयाँ एमडीका लागि पुस ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । हालका एमडी अधिकारीको पदावधि पुस २२ गते सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.