नाडा नेतृत्वको लागि थापाको प्यानल सक्षम छः अग्रवाल

  २०७८ मंसिर २२ गते १३:०४     विकासन्युज

नाडा अटोमोबाइल एसोसिएनको निर्वाचन नजिकिदै गर्दा नेतृत्वका आकांक्षीहरुको दौडधुप पनि बढेको छ । आगामी कार्यकालको लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले प्यानल नै बनाएर चुनाबी प्रतिस्पर्धा गर्दैछन् ।

थापाको प्यानलबाट कार्यसमिति सदस्यमा दीपक अग्रवालले पनि उम्मेदवारी दिएका छन् । अग्रवाल जगदम्बा मोटर्सको भाइस प्रेसिडेन्ट हुन् । अग्रवालसँग नाडाको आगामी नेतृत्वको प्राथमिकता, अटोमोबाइल क्षेत्रमा देखिएका समस्या समाधान लगायतका विषयमा विकासन्युजका लागि समुन्द्र घिमिरेले कुराकानी गरेकी छन् ।

तपाईले ध्रुव थापा प्यानल रोज्नु भएको छ, यसको खास कारण के हो ?

यो प्यानलमा म सबैभन्दा पछाडी जोडिएको मान्छे हो । थापालाई मैले रोज्नुको मुख्य कारण नै समावेशी समूह नै हो । अहिलेको अवस्थामा नाडालाई चाहिएको नेतृत्व थापाले बनाउनु भएको छ । उहाँले विभिन्न क्षेत्रका व्यवसायीलाई समेटेर प्यानल बनाएको देखेर नै मैले उहाँलाई समर्थन गरेको हुँ ।

आज व्यक्तिगत स्वार्थबाट उठेर संस्थागत स्वार्थमा भिड्नुपर्ने अवस्था आएको छ । थापाजीले ल्याउनु भएका धेरै साथीलाई मैले चिनेको पनि रहेनछु । उहाँले नाडामा अहिलेसम्म लागू भएको सिन्डिकेटको अन्त्य गर्न नै सबै क्षेत्रलाई समेट्नु भएको छ । नाडाका लागि आवश्यक पर्ने समूह नै थापा प्यानल हो ।

उहाँले अलगअलग क्षेत्रबाट मोती ल्याएर धागोमा माला उन्ने काम गर्नुभएको छ । अटो मोबाइल्स क्षेत्रमा साझा परिवर्तन खोजिएको छ । थापा प्यानलले परिवर्तन ल्याउछ भनेर नै मैले उहाँलाई समर्थन गरेको हो ।

नाडाले अटो सो बाहेक अन्य केही गर्न सकेन भन्ने व्यवसायीले आरोप लगाउँदै आएका छन् । नाडाको नयाँ नेतृत्वले सो बाहेक अरु के काम गर्छ ?

पहिलो काम त नाडालाई व्यवस्थित गर्नुछ । हामीले धेरै ठूला कुरा गर्छु भन्ने भन्दापनि आवश्यक कामहरु गर्नुपर्छ । हामी डाटा हव र हेल्प डेक्सको कुरा गर्दैछौं । अटो मोबाइल्स क्षेत्रमा नयाँ आउने व्यवसायीको लागि आवश्यक पर्ने सहयोग, नाडा आटो सोलाई काठमाडौं बाहेकका क्षेत्रमा कसरी व्यवस्थित गर्न सकिन्छ, त्यसतर्फ हाम्रो ध्यान केन्द्रीत रहनेछ । पार्ट एक्पो, दुई÷चार पांग्रे एक्पो, उपकरणको एक्पो लगायतका कामहरु पनि गर्न सकिन्छ । हाम्रो ध्यान नयाँ क्षेत्रमा रहन्छ ।

विगतमा नाडामा सहमतिमा नयाँ कार्यसमिति चयन गर्ने अभ्यास देखिन्छ । यसपाली प्यानलसहित निर्वाचन हुँदैछ । निर्वाचनपछि नाडा फुट्ने हो कि भन्ने चिन्ता पनि व्यवसायी माझ देखिन्छ । निर्वाचनको हारजितसँगै नाडा फूट्ने सम्भावना छ ?

चुवानपछि नाडा फुट्छ भन्ने कुरा मलाई विश्वास लाग्दैन । हामी सबै अटो मोबाइल्स व्यवसायी हौं । अहिले चुनावमा हाम्रो एजेण्डा फरक होला, हामी फरक पक्षलाई समर्थन गरौला तर, चुनाव सकिएपछि हामी सबै एकै क्षेत्रका व्यवसायी हौं ।

हामीले हाम्रो क्षेत्रलाई समेटेर लैजाने हो । टिम र प्यानल बन्दा सहजताको वातावरण बन्ने हो । यदि मिश्रित समूहबाट नाडामा नयाँ प्रतिनिधि आयौं भने मिलेर नै नाडालाई अगाडी बढाउने हो ।

नाडामा ठूला साना सबै व्यवसायी छन् । ठूला व्यवसायीले सानालाई महत्व दिएनन्, अवसर दिएनन् भन्ने गुनासो साना व्यवसायीको छ । यस्तो मतभेद कसरी हटाउने योजना बनाउनु भएको छ ?

हाम्रो नारा नै अब बनाउनु छ नाडालाई सबै अटो मोबाइल्स व्यवसायीको साझा भन्ने छ । साझा बनाउने उद्धेश्य लिएर नै हामी अगाडी बढेका छौं । नाडालाई सबै व्यवसायीको साझा बनाउनकै लागि हामीले समावेशी प्यानल बनाएका छौं । सानादेखि ठूला व्यवसायीलाई सहभागिता गराएर नै उनीहरुको समस्या बाहिर ल्याउने हाम्रो अभियान हो ।

ध्रुव थापाको प्यानलको चाम नै समावेशी सहभागिता छ । हो, साना व्यवसायीको समस्या नाडामा आउदैन्, उनीहरुको समस्याहरु नसुनिने भएकै कारण हामीले मोफसलबाट प्रतिनिधित्व रहने गरी थापाको नेतृत्वमा समावेशी प्यानल निर्र्माण गरेका हौं । नेपाल भर छरिएर रहेका व्यवसायीका दबेका समस्याहरु हामी बाहिर ल्याउँछौँ, हाम्रो समावेशी प्यानलबाटै समाधान हुन्छ ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्नेभन्दै नेपालमा नै गाडी एसेम्बल गर्ने उद्योगलाई सहुलियत घोषणा गरिसकेको छ । सरकारी नीतिअनुसार गाडी एसेम्बलिङमा नाडाको भूमिका कस्तो रहला ?

यसको एउटा उदाहरण मै हुँ । नेपालमा पहिलो र दोस्रो एसेम्बलिङ उद्योगबाट टिभीएसले नेतृत्व लिएको छ । विगतमा टिभीएसको तर्फबाट मेरै नेतृत्वमा विभिन्न मन्त्रायलदेखि सरकारसम्म हामीले सहकार्य गर्दै आज यहाँसम्म ल्याउन सफल भएका छौं ।

भोलिका दिनहरुमा कसरी दक्ष जनशक्तिबाट नेपालमै स्वरोजगार उत्पादन गर्ने लगायतका विभिन्न कामहरु अझै बाँकी छ । सरकारले पनि एसेम्बल उद्योगलाई प्राथमिकतामा राखेको छ । उद्योग मात्र भनेर हुँदैन । पहिलो सुरुवात हामीले ससाना कुराहरुबाट गर्नुपर्छ । सरकारको नीति अनुसार एसेम्बलिङ उद्योगकै लागि पनि हाम्रो नेतृत्व नाडामा जरुरी छ । दुई पांग्रेबाट म र चार पांग्रेबाट लक्ष्मी हुण्डाईका निराकार श्रेष्ठ, आकाश गोल्छाहरु हुनुहुन्छ । हाम्रो नेतृत्व नाडालाई आवश्यक छ ।

सवारी साधनमा सबैभन्दा बढी कर लगाउने देशको सूचिमा नेपाल पर्छ । भन्सार, अन्तशुल्क, भ्याट, सडक दस्तुर, वातावरणीय प्रदुशष शुल्क लगायत सबै कर सवारीधनीले तिर्नुपर्छ । करको दर कम गर्न नाडाले किन हस्तक्षेपकारी भूमिका खेल्न सकेन ?

यो विषयमा हामीले विगत लामो समयदेखि छलफल गर्दै आएका छौ । नाडामा आवद्ध सदस्यहरुले राख्दै आएको माग नै यही हो । यसअघि सरकारले विद्युतीय सवारी साधनमा कर लगाएको थियो, यो अप्राविधिक भयो भनेर हामीले माग राखेपछि नै घटाईएको हो ।

पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा पनि चर्काे कर लगाइएको छ । ट्याक्स मात्र घटाएर समस्याको समाधान हुन्न । ट्याक्स घटाएर त्यसको कम्पन्सेन्ट कसरी गर्ने त्यसतर्फ ध्यान दिनुपर्छ । हामीले दिएको ट्याक्सबाटै सरकार चलेको छ, त्यही पनि घटाईयो भने सरकारको आम्दानी पनि खुम्चिएला । कर घटाउन भन्दा पनि त्यसलाई कम्पन्सेन्ट कसरी गर्ने विषयमा हामी सबैले निष्कर्श निकाल्न सकिन्छ ।

अन्त्यमा, चुनाव आइसक्यो, अटोमोबाइल्स व्यवसायीलाई तपाईको म्यासेज ?

अटो मोबाइल्स क्षेत्रमा परिवर्तन ल्याउन तपाईले खोज्नुभएको उत्कृष्ठ नेतृत्व नै ध्रुव थापा प्यानल हो । सबैकोे समावेशी प्यानल नै थापा प्यानल हो । यो कुरा ध्यानमा राखेर मतदान गरिदिनु होला भन्ने मेरो अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.