पुनर्बीमा ब्रोकरको लाइसेन्स दिँदै बीमा समिति, चुक्ता पुँजी १० करोड हुनुपर्ने

  २०७८ मंसिर २१ गते ११:०६     विकासन्युज

काठमाडौं । बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने भएको छ । नेपालमा ब्रोकर नहुँदा कम्पनीहरुले प्रत्येक्ष रुपमा पुनर्बीमा गराउदै आएका थिए ।

बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच व्यवसाय गर्नको लागि ब्रोकर आवश्यक पर्ने भएकोले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पुनर्बीमा ब्रोकरको लाइसेन्स दिने तयारी थालेको हो । ब्रोकर आवश्यक हुने भएकोले चाँढै पुनर्बीमा ब्रोकरको लाइसेन्स दिन लागिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

‘पुनर्बीमा ब्रोकरको आवश्यकता देखिएको छ, अहिलेसम्म नेपालमा यस्तो ब्रोकर छैनन्, केही कम्पनीले ब्रोकरको लाइसेन्स माग्दै दर्ता प्रक्रियामा पनि आएका छन्, प्रक्रिया पूरा गरेर आएकालाई लाइसेन्स दिन सकिन्छ,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने ।

बीमा कम्पनीहरुले गरेको बीमा रकमको निश्चित अंशको जोखिम आफैले राख्ने गर्छन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको लागि ५ प्रतिशत र जीवन बीमा कम्पनीहरुले ०.३ प्रतिशत जोखिम आफैले लिन पाउने नीतिगत व्यवस्था गरेको छ ।

सोभन्दा बढीको जोखिम बीमा कम्पनीहरुले पुनर्बीमा गराउने गर्छन् । कम्पनीहरुले पुनर्बीमा गराउँनको लागि पहिला ब्रोकरमा जानुपर्छ । अनि ब्रोकरले पुनर्बीमा खोजेर कम्पनीहरुले गरेको बीमाको पुनर्बीमा गराउने व्यवस्था गरेका हुन्छन् । तर, नेपालमा अहिलेसम्म पुनर्बीमा ब्रोकर नभएकोले कम्पनीहरु आफैले पुनर्बीमा गराउँदै आएका छन् ।

बीमा समितिले पुनर्बीमा ब्रोकर स्थापना गर्नको लागि आवश्यक गृहकार्य गरिसकेको छ । समितिले यही वर्ष मात्रै पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ । सो निर्देशिका अनुसार पुनर्बीमा ब्रोकर स्थापना गर्नको लागि १० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.