५ वटा जीवन बीमा कम्पनीको लाभांश घोषणा, सबैभन्दा बढी एशियन लाइफको

  २०७८ मंसिर २० गते १८:४७     विकासन्युज

काठमाडौं । हालसम्म ५ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीमध्ये ५ वटाले मात्रै अघिल्लो आवको लाभांश घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्नेमा एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये प्राइम लाइफ इन्स्योरेन्सको लाभांश भने पारित भइसकेको छ ।

मंसिर १९ गते सम्पन्न प्राइम लाइफको वार्षिक साधारणसभाले १५.८७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सले १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२.७ प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सम्बन्धित सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

उता निर्जीवन बीमा कम्पनीमध्ये अधिकांशले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित पनि गरिसकेका छन् । तर हालसम्म आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गर्नेमा प्रिमियर इन्स्योरेन्स मात्रै रहेको छ भने बाँकीले हालसम्म उक्त वर्षको लाभांश घोषणा गरेका छैनन् ।

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.