जुम्लामा एमबिबिएस कक्षा सुरु

  २०७८ मंसिर २० गते ९:५४     विकासन्युज

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार १५ जना भर्ना भएका छन् ।

तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना भएका छात्र ओमकुमार यादवले भने,“ जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु । ”अर्का छात्रा अपेक्षा पराजुलीले प्रतिष्ठानका शिक्षक, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले आफू एमबिबिएस अध्ययन गर्न आएको जानकारी दिईन ।

प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत रहेका छन् ।

यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी),, नर्सिङ पनि अध्यापन पनि सुरुआत गरेको छ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ ।

प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष ९आइसीयू० र चार शय्याको शल्यक्रिया कक्ष छ ।

“जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोशेढुङ्गाको काम गर्नेछ । ” प्रतिष्ठानका एक पदाधिकारीले भने ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने, “कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनभएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा र सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।”

शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद समेत दिए । “स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो”, उनले भने, “अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.