एउटै गाउँपालिकाले १ करोड बराबरको ग्यासचुल्हो वितरण गर्दै, वन बचाउने रणनीति

  २०७८ मंसिर १२ गते १८:११     राजिव न्यौपाने

काठमाडौं । दार्चुलाको अपि हिमाल गाउँपालिकाले १३ सय घरधुरीलाई निःशुल्क ग्यास र चुल्हो वितरण गरेको छ । गाउँपालिकाले शनिबारबाट ग्यासको सिलिन्डर र चुल्हो वितरण गर्न थालेको हो ।

गाउँपालिकाले पालिकालाई प्रदूषण मुक्त बनाउनको लागि ग्यास र चुल्हो वितरणको कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले बताए । उनका अनुसार ग्यास र चुल्हो गाउँपालिकाको प्रत्येक वडाबाट वितरण हुँदैछ ।

पालिकाले नै १३ सय वटा ग्यासको सिलिन्डर र चुल्हो खरिद गरी निःशुल्क वितरण गरेको हो । पालिकाले ९५ लाख रुपैयाँमा ग्यास खरिद गर्ने टेन्डर गरेको थियो ।

धुँवाले गर्दा जनताको स्वास्थ्यमा असर पुर्याउने र दाउराको उपयोगलाई कम गर्न ग्यास वितरण गरेको अध्यक्ष मन्यालले बताए ।

उनका अनुसार पालिकाको धेरै ठाउँमा सडक पुगेको छैन । ‘सडक नभएको स्थानमा ग्यास सकियो भने बोकेर लानु पर्छ, उक्त समस्याको समाधान गर्नको लागि छिट्टै नै सडक निर्माणको कार्य अगाडि बढाइने छ,’ उनले भने ।

हाल पालिकाको कुनै पनि वडामा बिजुलीको पहुँच पुगेको छैन । केही ठाउँमा राष्ट्रिय प्रसारण लाइनको काम हुँदैछ । तर, केही ठाउँमा विरोध र विवादका कारण उक्त काम पनि रोकिएको पनि मन्यालले जानकारी दिए । ग्यास र चुल्हो वितरण गर्दा स्थानीय पनि खुसी भएको मान्यालले बताए ।

सिलिण्डर र चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरेर कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले बताए ।

‘गाउँपालिकामा दाउरा खोज्न निकै समस्या छ, गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि वन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने ।

अपिहिमाल गाउँपालिकाले स्वच्छ अपि, धुँवामुक्त अपि कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको उनको भनाई छ ।

चालु आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण हो ।

One comment on "एउटै गाउँपालिकाले १ करोड बराबरको ग्यासचुल्हो वितरण गर्दै, वन बचाउने रणनीति"

  • Kamal says:

    ग्याँस खरिद गर्न नेपाली पैसा बाहिरिन्छ । परनिर्भरता झन् बढ्छ । त्यसैले सुधारिएको चुल्हो, विद्युतिय चुल्हो वा अन्य बैकल्पिक उपाय खोजेको भए अझै राम्रो हुन्थ्यो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.