यस वर्ष टेलिकमद्वारा ८ अति दुर्गम स्थानमा टुजी र फोरजी सेवा विस्तार

  २०७८ मंसिर १२ गते १७:४०     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले यस आर्थिक वर्षमा अति दुर्गम र विकट ८ (आठ) स्थानहरुमा जिएसएम टुजी र फोरजी सेवा विस्तार गरेकाे छ ।

टेलिकमले सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्रयाङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्टमा हेलिकप्टरबाट उपकरणहरु ढुवानी सेवा विस्तार गरेकाे हाे । यी टावरबाट टेलिकमले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

टेलिकमकाे अनुसार सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ का लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का वस्तीहरु र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ । त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

यस्तै गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ । गोरखाकै बिही (गज्र्याङ डाँडा) नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरुमा सेवा उपलब्ध भएको छ ।

यसका साथै मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

टेलिकमले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गर्ने जनाएकाे छ ।

टेलिकमकाे अनुसार हाल यी स्थानहरुमा संरचना निर्माण भइरहेको र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.