प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पठनपाठन सुरु

  २०७८ मंसिर ११ गते ११:४८     विकासन्युज

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो ।

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिए । यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । उनले भने, “शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति पनि अन्त्य भएको छ ।”

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई प्रोजेक्टर युपिएसको प्रयोग पनि गरिएको छ । तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएका छन् ।

व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि रु दुई लाख विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए ।

उक्त विद्यालयमा हाल २५० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी दलित जनजातिका रहेका र अन्य समुदायको सङ्ख्या भने न्यून रहेको उनले बताए। उक्त विद्यालयमा स्मार्ट बोर्डको प्रयोग गरेपछि अन्य विद्यालयले पनि उक्त प्रविधि अपनाउन तयारी गरिरहेको व्यास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.