सीडी रेसियो ९० प्रतिशत नाघ्दा ऋण दिनै नसक्ने अवस्थामा बैंक, राष्ट्र बैंकले पौने २ खर्ब बजारमा पठायो

  २०७८ मंसिर १० गते १७:४९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको छ । यस्तै स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकमा लगानीयोग्य रकम (तरलता) अभावभएसँगै कर्जा–निक्षेप अनुपात(सीडी) रेसियो औसत ९०.३१ प्रतिशत पुगेको छ ।

केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनीरहेका छन् । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्बमा झरेको थियो ।

यस्तै, गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकोमा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ ।

यस आधारमा तीन दिनमा नै निक्षेप ७ अर्ब रुपैयाँले घटेको देखिन्छ भने ७ अर्बले नै कर्जा लगानी भएको थियो । गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।

गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको थियो । असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मकरुपमा वृद्धि नभएका कारणले निक्षेपमा चाप परेको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै यस अवधिमा निक्षेप सङ्कलन उपकरणमार्फत् ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत् २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् ६० अर्ब तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २४ करोड खुद खरिद गरी एक खर्ब १४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तको तुलनामा गत असोज मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भई प्रतिअमेरिकी डलर खरिद विनिमय दर १२०.१२ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

One comment on "सीडी रेसियो ९० प्रतिशत नाघ्दा ऋण दिनै नसक्ने अवस्थामा बैंक, राष्ट्र बैंकले पौने २ खर्ब बजारमा पठायो"

  • अनिल कुमार साह says:

    कहिले सम्म लोन को दिने कार्य हुन्छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.