अर्थमन्त्रीसँग गुनासो गर्ने सेयर लगानीकर्ता गभर्नरसँगै सन्तुष्ट

  २०७८ मंसिर १० गते १३:४६     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको समीक्षासँग सन्तुष्ट नै देखिएका छन् । यसअघि मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोड रुपैयाँको सीमाको व्यवस्था गर्दा विरोध गरेका लगानीकर्ताहरु अन्ततः सन्तुष्त नै देखिएका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयरधितो ४/१२ करोड रुपैयाँको व्यवस्था गरेको थियो । राष्ट्र बैंकले सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले सेयर बजार घटेको पनि आरोप लगानीकर्ताकाे छ । यही व्यवस्थाको कारण केही लगानीकर्ताहरुले विरोध पनि जनाए । तर, अहिले पनि राष्ट्र बैंकले सो व्यवस्थाई कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरुले आत्मसन्तुष्टि जनाएका छन् ।

पुँजी बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत आफुले कुनै विषयको अपेक्षा नगरेको भएकोले पनि जे आयो त्यसमा नै सन्तुष्ट हुनु परेको बताए ।

उनले कोरोना महामारीको कारण समस्याग्रस्त क्षेत्रको पुनरुत्थान गर्नु पर्ने बेला पुँजीबजारले खासै अपेक्षा नगरेकोले पनि जे छ त्यसमै सन्तुष्ट हुनु पर्ने उनको भनाई छ ।

‘राष्ट्र बैंकले ४/१२ करोड रुपैयाँको व्यवस्थालाई पुनरावलोकन गर्न उपयुक्त नठानेकै कारण यथावत राख्यो, अब लगानीकर्ता पनि अभ्यस्त र संयमित पनि भइसकेका छन्, समीक्षा मार्फत राम्रो नराम्रो र कसिलो विषय केही पनि आएको छैन, जे आयो त्यसमै सन्तुष्ट हुनु पर्छ,’ उनले भने ।

उनका अनुसार यो विषयले लगानीकर्ता अब आत्तिनु पर्ने अवस्था छैन । ‘अहिले तरलताको कारण संकटमा भएका क्षेत्रले पनि ऋण पाइरहेका छैनन, यो अवस्थामा राष्ट्र बैंकले खुकुलो पार्छ भन्ने अपेक्षा पनि थिएन, मेरो व्यक्तिगत रुपमा कुनै गुनासो छैन,’ उनले थपे ।

यस्तै, नेपाल इन्भेष्टर्श फोरमका अध्यक्ष छोटेलाल रोनियारले राष्ट्र बैंकले यो व्यवस्थामाथि लचकता अपानउनु पर्ने आवश्यक भएपनि कुनै हेरफेर नगरेको बताए । उनका अनुसार अब लगानीकर्ताले निराशभन्दा पनि सेयर बजारको सही विश्लेषण गरेर लगानी गर्नु पर्नेछ ।

‘राष्ट्र बैंकले ४/१२ करोडको व्यवस्थामा अडान लियो, हामीले सीमा राख्नु हुन्न भनेर विरोध पनि गरेका हौं, सीमा नै राख्ने हो भनेपनि एक बैंकले १२ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गर्न आग्रह गरेका थियौं, यस्तो गरेपनि केही सहज हुन्थ्यो, तर राष्ट्र बैंकले कुरा सुनेन, अब जे छ त्यसमै रहेर लगानी गर्नुको विकलप छैन,’ उनले भने ।

उनका अनुसार राष्ट्र बैंकले सीडी रेसियो आगामी असार मसान्तसम्म कायम गर्नु पर्ने व्यवस्था सन्तोषजनक छ । ‘पुँजी बजारलाई अब एउटा निक्र्योल आएको छ । केही दिन लगानीकर्ताले आ–आफ्नो ठाउँबाट विश्लेषण गर्छन्,’ फेरि सेयर बजारले आफ्नो लय समात्छ,’ उनले थपे ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि ४/१२ करोड रुपैयाँको सीमा पुनरावलोकन गर्नु पर्छ भनेर लाग्दै आएपनि अब पुनरावलोकन नभएपछि फेरि त्यसपछि नै लाग्न नुहुने बताउँछिन् ।

उनले यो व्यवस्था संशोधन हुन्छ भनेर अर्थमन्त्री जनार्दन शर्माले आश्वासन दिएपनि पूरा नगरेको बताइन् ।

‘यो व्यवस्था पुनरावलोकन हुन्छ भनेर अर्थमन्त्रीज्यूले आश्वासन लगानीकर्तालाई दिनु भएको थियो, अर्थमन्त्रीले भनेपछि हामी पनि आशामै थियौं तर, राष्ट्र बैंकले त्यसबारे केही बोलेन, लगानीकर्ताहरुले जति जोखिम लिनु थियो, लिई हाले, अब लगानीकर्ताले राष्ट्र बैंकलाई गाली गर्नुभन्दा पनि संयमित भएर लगानी गर्नु पर्छ,’ उनले भनिन् ।

४/१२ करोड रुपैयाँको व्यवस्था जस्तै अन्य प्रकरणहरु ल्याएर बजारमा चलखेल गर्नु भन्दा पनि अब बुझेर लगानी गर्नुपर्ने उनको भनाई छ ।

‘४/१२ करोड रुपैयाँको व्यवस्थाले बजारमा चलखेल गर्ने विषय बनेको थियो, अब यस्ता प्रकरणमा लाग्ने भन्दा पनि बुझेर लगानी गर्ने हो, जे आयो त्यसमा सन्तुष्ट भएर ढुक्कले लगानी गरौं,’ उनले भनिन् ।

One comment on "अर्थमन्त्रीसँग गुनासो गर्ने सेयर लगानीकर्ता गभर्नरसँगै सन्तुष्ट"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.