मंसिरभित्रै १८ वटा कम्पनीको लाभांश पारित हुँदै, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश ?

  २०७८ मंसिर १० गते १३:३९     मञ्जरी पौडेल

काठमाडौं । पछिल्लो समय सूचीकृत कम्पनीहरुले वार्षिक साधारणसभा धमाधम आव्हान गर्न थालेका छन् । आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्रमा वार्षिक साधारणसभा गर्नुुपर्ने कानूनी प्रावधान रहेकोले सूचीकृत कम्पनीहरु साधारणसभा गर्नमा हतारिन थालेका हुन् ।

कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनीले वार्षिक साधारणसभा गर्नको लागि कम्तीमा २१ दिन अगाडि नै सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ । यस्तो व्यवस्थाको कारण मंसिरभित्रै साधारणसभा सम्पन्न गर्न कम्पनीहरुले मंसिर ९ गतेभित्रमा सार्वजनिक सूचना जारी गरिसक्नु पर्छ । उक्त सूचनामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय उल्लेख गर्नुपर्ने कानूनी प्रावधान छ ।

यो अवधिमा सूचीकृत केही कम्पनीले मात्र साधारणसभा सम्पन्न गरिसकेका छन् । अधिकांश कम्पनीले त अझै डाकेकै छैनन् । यता १८ वटा कम्पनीहरुले भने मंसिरभित्रै सभा सक्ने हिसावले सार्वजनिक सूचना प्रकाशित गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश पारित गर्ने मूख्य एजेण्डासहित साधारणसभाको मिति तय गरेका हुन् ।

सूचीकृत पब्लिक कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्तावसहित विभिन्न मितिमा आफ्नो वार्षिक साधारणसभा बोलाएका छन् । जसमध्ये अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् ।

कुनले कहिले गर्दैछन् ?

मंसिर १० गते मात्रै तीन वटा कम्पनीको साधारणसभा छ । लक्ष्मी लघुवित्त, आरएसडीसी र गुँरास लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १० गते एकैदिन परेको छ ।

जसमध्ये लक्ष्मी लघुवित्तले मंसिर १० गते १०औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन विहान ११ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा हुँदैछ । सभाले सेयरधनीलाई २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ ।

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि मंसिर १० गते नै सभा आव्हान गरेको छ । संस्थाले १०.५३ प्रतिशत लाभांश प्रस्तावसहित सो दिन विहान ९ बजे रुपन्देहीको बुटवलस्थित एशियन होटलमा ८औं वार्षिक साधारणसभा बोलाएको हो ।

गुराँस लाइफ इन्स्योरेन्सले पनि लाभांश प्रस्तावसहित मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन विहान ११ बजे काठमाडौंको तिनकुनेस्थित इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा अनलाइनमार्फत हुने छ । सभाले सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णग गर्दैछ ।

फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंसिर १६ गते १२औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सो दिन विहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा गत आर्थिक वर्षको सभा गर्न लागेको हो । उक्त सभाले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते आफ्नो ३५औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित आफ्नो केन्द्रिय कार्यालयमा जुम मिटिङ्ग मार्फत हुने छ । त्यस्तै, सभामा जानको लागि संस्थाले मंसिर ६ गते बुक क्लोज गरिसकेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन दिउँसो २ बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा उक्त सभा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले मंसिर १० गते एक दिन बुक क्लोज गर्दैछ ।

त्यस्तै, मंसिर २२ गते महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले बिहान १०ः३० मा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा आफ्नो तेश्रो वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले प्रस्तावित २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस सेयर प्रस्तावमाथि निर्णय गर्दैछ । सभामा जान संस्थाले मंसिर १६ गते एकदिन बुक क्लोज गर्न लागेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनीले मंसिर २३ गते ११ः३० बजे काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेङ्क्वेटमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा साधारण सेयर (आईपीओ) जारी गर्नेदेखि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने विशेष प्रस्ताव लैजाँदै छ ।

मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते नवौं वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ः३० बजे नुवाकोटको सभाकक्ष होटल वाटर टावरमा सभा गर्न लागेको हो । संस्थाले सभामा चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव लैजाँदै छ ।

मुक्तिनाथ विकास बैंकले मंसिर २५ गते विहान ९ बजे कास्कीको पोखरास्थित होटल जल महलमा आफ्नो १५औं वार्षिक साधारणसभा आव्हान गरेको छ । सभाले प्रस्तावित १८.५ प्रतिशत लाभांश (१७.५७५ प्रतिशत बोनस र ०.९२५ प्रतिशत नगद) माथि निर्णय गर्दैछ ।

ग्लोबल आईएमई बैंकले आगामी मंसिर २७ गते विहान १० बजे काठमाडौंका कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १५औं वार्षिक साधारणसभा गर्न लागेको छ । सभाले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने प्रस्तावमाथि निर्णय गर्दैछ । र, संस्थाको आगामी मंसिर १३ गते एकदिन बुक क्लोज हुनेछ ।

मंसिर २८ गते ४ कम्पनीको

मेगा बैंकले आगामी मंसिर २८ गते विहान ११ः१५ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा बोलाएको छ । सभाको आगामी मंसिर १४ गते एक दिन बुक क्लोज गर्दै छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र २.०७ प्रतिशत नगद) प्रस्तावमाथि निर्णय गर्दैछ ।

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि मंसिर २८ गते नै साधारण सभा गर्न लागेको छ । ३५औं वार्षिक साधारण सभा सो दिन बिहान १० बजे काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको केन्द्रिय कार्यालयमा भर्च्युअल माध्यमबाट हुने बैंकले जनाएको छ । सभाले प्रस्तावित १३.०६ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद) पस्तावमाथि निर्णय गर्दैछ ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले पनि लाभांश पारित गर्न गत वर्षको वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले आगामी मंसिर २८ गते विहान १० बजे पोखराको होटल पोखरा ग्राण्डीमा नवौं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले संस्थाको सञ्चालक समितिको २८ प्रतिशत बोनस सेयर प्रस्तावमाथि निर्णय गर्दैछ ।

सोल्टी होटलले पनि मंसिर २८ गते बिहान ११ बजे काठमाडौंको टाहचलस्थित कम्पनीको केन्द्रिय कार्यालयमा ४७ औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको मंसिर ६ गते बुक क्लोज भइसकेको छ ।

मंसिर २९ गते ३ कम्पनीको

बैंक अफ काठमाण्डूले मंसिर २९ गते बुधबार बिहान १० बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जुम मार्फत वार्षिक साधारणसभा गर्दैछ । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ४ प्रतिशत नगद) प्रस्तावमाथि निर्णय गर्दैछ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आगामी मंसिर २९ गते सभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ बजे रुपन्देहीको महाराजा रिसोर्टमा हुँदैछ । सभाले सेयरधनीलाई गत आवको नाफाबाट चुक्ता पुँजीको १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमाथि निर्णय गर्दैछ । र, उक्त सभामा जान मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म संस्थाको बुक क्लोज हुँदैछ ।

त्यस्तै, इन्भेष्टमेन्ट समूह अन्तर्गत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते सभा आव्हान गरेको छ । संस्थाले आफ्नो तेश्रो वार्षिक साधारणसभा सो दिन बिहान ९ बजे काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा अनलाइन माध्यम र भौतिक रुपमा एकसाथ सञ्चालन गर्न लागेको हो । सभाले प्रस्तावित ८.४२ प्रतिशत लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ ।

सबैको लघुवित्तले पुष ३ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले सो दिन बिहान ११ बजे तनहुँको बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टमा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत र १.६३ प्रतिशत लाभांश प्रस्तावमाथि निर्णय गर्नेछ । उक्त सभामा जान संस्थाले पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस ५ गते विहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ । सभाले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ । सभामा जान संस्थाले मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्नेछ ।

नेरुडे लघुवित्तले पनि गत वर्षको वार्षिक साधारणसभा आव्हान गरिसकेको छ । संस्थाले पुस १० गते बिहान ११ बजे विराटनगरको उद्योग संगठन मोरङ्गको सभाहलमा १५औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समितिको प्रस्तावित २१.४९ प्रतिशत बोनस र ५५ लाख ८५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्तावमाथि निर्णय गर्दैछ । त्यस्तै, संस्थाको आगामी मंसिर २६ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज हुनेछ ।

यी कम्पनीहरुको प्रस्तावित लाभांश खान इच्छुक लगानीकर्ताले सम्बन्धित कम्पनीको बुक क्लोजभन्दा अघिल्लो कार्य दिनसम्ममा सो कम्पनीको सेयर होल्ड अर्थात सेयर खरिद गरिसक्नु पर्ने हुन्छ । यदि सो समयभन्दा पछि सेयर खरिद गरेको खण्डमा भने उनीहरु सो कम्पनीको गत वर्षको लाभांश खान योग्य हुँदैनन् ।

१५ कम्पनीले सके साधारणसभा

हालसम्म वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका गरी कूल १५ वटा कम्पनीले वार्षिक साधारणसभा भ्याईसकेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंकहरु छन् । उनीहरुले गत आवको साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांशसमेत वितरण गरिसकेका छन् । सभा सम्पन्न गर्नेमा माछापुच्छ्रे, सानिमा, सिटिजन्स, कुमारी र नेपाल बङ्गलादेश बैंक रहेका छन् ।

कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले पनि गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् ।

त्यस्तै, लघुवित्त समूह अन्तर्गतका डिप्रोक्स, साधना, अभियान, गुराँस, आशा, सिभिल, स्वरोजगार र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सभा सम्पन्न गरिसकेका छन् ।

पछिल्ला वर्षका गतिविधि अनुसार कम्पनीहरुलाई साधारणसभा गर्न मंसिरमा भन्दा पनि पुसमा बढी भ्याई नभ्याई हुने गरेको पाइन्छ । पुस मसान्तसम्म सभा सम्पन्न गरिसक्नु पर्ने बाध्यताका कारणले नै कम्पनीहरुलाई सो महिनामा सभाको बढी चटारो पर्छ । र, अधिकांशको मिति मात्रै नभई समय पनि जुध्न पुग्छ । त्यसैल पनि सेयरधनीहरु इच्छा हुँदौहुँदै पनि सबै कम्पनीको साधारणसभा सहभागी हुन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.