जोन्टा क्लबकाे लैङ्गिक हिंसा र बाल–विवाहविरुद्धकाे अभियान शुरु

  २०७८ मंसिर ९ गते १८:५५     विकासन्युज

काठमाडाैं । बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा विरुद्ध अभियान शुरु गरेको छ ।

यो अभियान संयुक्त राष्ट्रसंघको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै शुरु भएकाे छ ।

महिलाहरु माथि निरन्तर रुपमा हिंसाको घटनाहरु भैराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाई नहुने र साथ नपाईने डरले उजुरी नगर्ने र ‘कहिलेकाँही यस्तो भैहाल्छ नि, एकचोटिलाई छोड्देउ’ भनेर लैङ्गिक हिंसाका यस्ता धेरै घटनाहरु सामसुम पारिने गरेका कारण जाेन्टाले यस विषयमा ४ वटा शर्ट फिल्महरु बनाएको छ ।

यी शर्ट फिल्महरुले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष सीमा गोल्छाले बताइन् ।

यससँगै जोन्टाले अभियानको एक हिस्साको रुपमा काठमाडौंको विभिन्न सार्वजनिक स्थलहरुमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दैछ । सामाजिक सन्देश प्रवाह गर्नको लागि सडक नाटकहरु बढी प्रभावकारी हुने सदस्य एवम अधिवक्ता रत्न कार्कीले बताइन् ।

जोन्टा काठमाडौंले हिंसामा परेका महिला र बालिकाहरुको सहयोगको लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । यसको साथै घरेलु हिंसा र कार्यस्थल जन्य हिंसापीडित महिलाहरुलाई कानुनी सल्लाह र सहयोग प्रदान गर्नको लागि जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ ।

जाेन्टाकाे अनुसार उक्त भिडियोहरु सिद्दार्थ बैंक र एमजिको आर्थिक सहयोगमा बनाइएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.