आई.आई. डी. एस. फेलोसिपकाे सुरुवात: एक सय युवालाई क्षमता अभिवृद्धिमा सहयाेग गर्न

  २०७८ मंसिर ९ गते १८:३१     विकासन्युज

काठमाडाैं । सर्वाङ्गीण विकास अध्ययन केन्द्रले राष्ट्र निर्माण र विकासको लागि ‘आई.आई. डी. एस. फेलोसिप कार्यक्रमकाे सुरुवात गरेको छ ।

केन्द्रले ४३ औं वार्षिकोत्सवकाे अवसरमा बुधबार औपचारिक रूपमा उक्त फेलाेसिप कार्यक्रमकाे सुरुवात गरेकाे हाे ।

उक्त फेलाेसिपकाे लागि आई.आई. डी. एस., त्रिभुवन विश्वविद्यालय , पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न गराई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु रहेकाे छ ।

यी विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष प्रदान गरिने बताइएकाे छ ।

यस फेलाेसिपकाे पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याईने बताइएकाे छ । पहिलो चरण अन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोश्रो चरणमा सरकारले यो कार्यक्रमलाई संस्थागत गर्ने स‌ंस्थाले जनाएकाे छ ।

सोही अवसरमा आईआईडीएस र सांग्रिला डेभलपमेन्ट बैंक र प्रभु क्यापिटलबीच सो कार्यक्रमको लागि आर्थिक श्रोत जुटाउने सम्बन्धि छुट्टा छुट्टै समझौता पत्रमा हस्ताक्षर भएको छ । आईआईडीएसले यस कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्डमा सुचिकृत विभिन्न पब्लिक लिमिटेड कम्पनी र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औधोगिक तथा व्यवसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको जनाएकाे छ ।

मण्डिखाटार, काठमाडौंमा अवस्थित आईआईडीएस गैर-सरकारी र गैर-नाफामुलक सोध मुलक संस्था हो। विगत ४३ वर्ष देखि आईआईडीएसले दिगो विकासका निमित्त आवश्यक पर्ने नीति निर्माणको लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा सोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.