उद्योगमा वैदेशिक लगानीको सिमा घटाउन सकिन्छः अर्थसचिव

  २०७८ मंसिर ९ गते १६:०८     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयका अर्थसचिव मधुकुमार मरासैनीले उद्योगमा वैदेशिक लगानीको सिमा घटाउन सकिने बताएका छन् । सातौं राष्ट्रिय उद्योग दिवस २०७८ को अवसरमा उद्योग विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थसचिव मरासैनीले अहिले रहेको ५ करोडको सिमालाई घटाउन सकिने बताएका हुन् ।

उनले विदेशी लगानीसँगै विदेशी प्रविधि र सीप पनि ल्याइने भएकाले साना लगानीका उद्योगलाई पनि नेपालमा अवसर दिन सकिने बताएका हुन् ।

‘हामीले बाहिरबाट लगानी ल्याउने भन्दैमा पैसा मात्रै ल्याउने भनेको होइन, तर त्यो पैसासँगै प्रविधि र सीप पनि ल्याउने हो, त्यसैले यसमा यसमा उदारवादी हौं, अहिलेको ५ करोडको सीमा घटाउँला, पहिला ५० हजार डलर थियो, त्यसमा पनि नबसौंला, तर साना साना स्टार्टअपलाई भित्रिन दिऔं, यसले रोजगारी सिर्जना गर्न पनि सहयोग गर्छ’, उनले बताए ।

त्यस्तै, कार्यक्रममा उनले नेपालमा उद्योगभन्दा व्यापार, निर्यातभन्दा आयात र स्वरोजगारी भन्दा वैदेशिक रोजगारीमा जाने फष्टाएको बताएका छन् । जसको मूख्य कारण नै खुला वातावरणको सदुपयोग गर्न नसक्नु उनको भनाई छ । साथै, रोजगारी उत्पादन र निर्यात प्रवद्र्धन गर्नको लागि देश चुकेको पनि उनले बताएका छन् ।

‘अहिले बजारमा केही समय तरलताको अभाव हुँदा, विदेशी मुद्रा सञ्चितिमा केही प्रेसर बढ्दा पनि हामी आत्तिरहेका छौं, आत्तिनु पर्ने छैन, पछिल्लो समय जीडीपीभन्दा लगानीको ग्रोथ बढेको छ, जुन राम्रै हो, लगानी बढ्ने भनेको अर्थतन्त्र लयमा आउनु हो’, उनले भने ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालको निर्यात १०९ प्रतिशतले बढीरहेको पनि उनले जानकारी गराए । साथै, दुई वर्षसम्म रोकिएको अर्थतन्त्र लयमा फर्किएको र यसलाई दिगो रुपमा अघि बढाउन उद्योगीहरुलाई आग्रह गरेका छन् ।

‘मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ६.५ प्रतिशतको मुद्रास्फीति हुन्छ भनेको छ । अहिले ४.०३ प्रतिशतमा छौं, हाम्रो देशको लागि ६ साढे ६ हुनु भनेको नराम्रो होइन, राम्रो हो, अब अहिले पनि विदेशी मुद्राको सञ्चिति लगभग ७.८ प्रतिशत छ, त्यसैले अहिले तत्कालको लागि अत्तालिनु पर्ने अवस्था छैन, दुई वर्षसम्म रोकिएको अर्थतन्त्र अहिले कोभिड पछि लयमा फर्किन लागेको छ, यसलाई दिगो रुपमा अघि बढायौं भने मलाई लाग्छ हाम्रो अर्थतन्त्र उद्योग बेस बनाउनको लागि महत्वपूर्ण अवसर हुन्छ । त्यसको लागि सरकारी नीति तथा व्यवसायीको प्रतिवद्धता चाहिन्छ,’ उनले भने ।

त्यस्तै, नेपालमा नयाँ औद्योगिक क्षेत्रको उद्घाटन भइरहेको तर उद्योग उद्घाटन नपाएकोमा उनले दुःख व्यक्त गर्दै उनले  कपडा उत्पादनको गार्मेन्ट खोल्न डेडिकेटेड उद्योग क्षेत्र चाहिएमा अर्थमन्त्रालयले सहयोग गर्ने समेत बताए । यो बाहेक उद्योग तथा व्यवसायीहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि प्रतिवद्ध रहेको उनले बताए । तर निजी क्षेत्रले पनि आईपर्ने चुनौतिलाई सामना गर्दै उपलब्ध भएका औद्योगिक क्षेत्रलाई राम्रोसँग उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.