चिप प्लान्टमा १७ अर्ब डलर लगानी गर्दै सामसुङ, विश्व बजारको अभाव पूर्ति हुँदै

  २०७८ मंसिर ९ गते ११:५०     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकाको टेक्ससमा करिब १७ अर्ब डलर खर्चेर अत्याधुनिक चिप प्लान्ट निर्माण गर्ने घोषणा गरेको छ ।

सामसुङले अर्काे वर्ष निर्माण सुरु गर्ने सो प्लान्टले कम्तिमा पनि २ हजार रोजगारी सिर्जना गर्नेछ । सामसुङको इलेक्ट्रोनिक्स डिभाइस सोलुसन डिभिजनका उपाध्यक्ष किनाम किमका अनुसार यो प्लान्टले अहिले विश्वमा देखिएको सेमिकन्डक्टरको अभावको समस्या समाधानको लागि योगदान गर्नेछ ।

आगामी वर्षदेखि प्लान्ट निर्माणको काम सुरु हुने र सन् २०२४ देखि यसले उत्पादन थाल्ने सामसुङले जनाएको छ । यो प्लान्टबाट उत्पादित सेमिकन्डक्टर सामसुङले आफ्नो उत्पादनमा प्रयोग गर्नुका साथै अन्य कम्पनीलाई पनि बिक्री गर्ने जनाएको छ । अमेरिकामा प्लान्ट स्थापनाको लागि अमेरिकी सरकारले सामसुङलाई केही सहुलियत पनि दिएको बताइएको छ ।

अमेरिकी सरकारले सो प्लान्ट स्थापना गरेबापत कम्पनीलाई यो प्लान्टबाट उत्पादित चिपमा सुरुवाती १० वर्षमा ९० प्रतिशत कर छुटको प्रस्ताव गरिएको छ । यस्तै, राज्यमा रोजगारी सिर्जना गर्न २७ मिलियन अनुदान पाउने जनाएको छ ।

ह्वाइट हाउसका अधिकारीहरुले भने सामसुङले नयाँ सुविधा ल्याएको भन्दै आपूर्ति शृङ्खलाहरु सुरक्षित गर्नदेखि रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने जनाएका छन् ।

‘सेमिकन्डक्टर चिप्सले घरेलु उत्पादन बढाउनु राष्ट्रिय र आर्थिक सुरक्षाको लागि महत्वपूर्ण छ’, अमेरिकी वाणिज्य सचिव जीना रायमन्डोलले भनिन्।

नयाँ सुविधामा बनेका चिपहरु मोबाइल, फाइभजी, उच्च क्षमताको कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका प्रविधिहरुमा प्रयोग गरिनेछ ।

सामसुङ अमेरिकाभरी २० हजारभन्दा बढी कर्मचारीहरुसँग विश्वको सबैभन्दा ठूलो चिप निर्माता कम्पनी हो । कम्पनीले पछिल्लो घोषणाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा आप्नो ४७ अर्ब डलर लगानी पुग्ने बताएको छ ।

कोभिड पश्चात विश्वप्यापी चिप अभावले उत्पादकहरुको लागि ठूलो अवरोधहरु निम्त्याउँदै आएको छ । कार निर्माताहरुले नयाँ कार उत्पादन स्थगित गर्नु परेकाे बताएका छन् भने एप्पलले आईफोन ढुवानीमा ढिलाई हुने चेतावनी समेत दिइसकेको छ । बीबीसीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.