मासिक ३०/४० प्रतिशत व्याज घटबढ हुने देश नेपाल नै होलाः अध्यक्ष गोल्छा

  २०७८ मंसिर ८ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले अस्वभाविक रुपमा व्याजदर घटबढ गर्दा उद्योगी व्यवसायीलाई समस्या भएको बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय उद्योग दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको परिसंवाद कार्यक्रममा उनले बैंकहरुले अस्वभाविक रुपमा मासिक व्याजदर घटबढ गर्दा समस्या भएको गुनासो गरेका हुन् ।

‘नेपाल मात्र एउटा देश हो जहाँ मासिक ३०/४० प्रतिशत व्याज घटबढ हुन्छ, व्याजदर र बिद्युतको महसुलकै कारण उद्योगको लागत बढेको छ, यसलाई व्यवस्थापन गर्न आवश्यक छ,’ उनले भने ।

उनले देशमा औद्योगिक विकासका लागि सरकारले नीतिगत सुधार गर्न आवश्यक रहेको धारणा राखे । उनले अहिले अर्थतन्त्रको चुनौति व्यापारघाटा नै रहेको बताउँदै उनले रहर, भावना र नाराले मात्रै उद्योग स्थापना सम्भव नहुने बताए ।

‘उद्योगमा यस्ता यस्ता समस्याहरु छन् भनेर हामीले भिजन पेपरमा उल्लेख गरेका छौं। ती समस्याहरु समाधान भएपनि ५० प्रतिशत व्यापार घाटा कम गर्न सकिन्छ, अहिले उर्जा र व्याजको खर्च धेरै भएकोले पनि उद्योगहरुको लागत बढिरहेको छ,’ उनले भने ।

यस्तै, उनले ‘लजिष्टिक कष्ट’ कम गर्नका लागि शुक्खा बन्दरगाहमा रेलको पहुँच गर्न पनि सरकालाई ध्यान आकर्षण गराए ।

सरकारले भारतसँग गरेको रेल सम्झौताबाट कच्चा पदार्थ ढुवानीमा ३२ प्रतिशतले सस्तो बताउँदै उनले शुक्खा बन्दरगाहसम्म रेलको पहुँच हुनु पर्ने धारणा राखेका हुन् । उनका अनुसार भारतको रेल नेपाल भित्रिन पाउने सम्झौता भएसँगै लागत घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.