राष्ट्र बैंकको अध्ययनः कोभिड महामारी अघिकै अवस्थामा फर्कियो आर्थिक गतिविधि

  २०७८ मंसिर ८ गते १६:४२     विकासन्युज

काठमाडौं । आर्थिक गतिविधि कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा करिब फर्किएको छ । उद्योग व्यवसाय संचालन, रोजगारीको अवस्था, तलब तथा ज्यालामा उद्योग व्यवसायले गर्ने खर्च, वस्तु तथा सेवाको उत्पादन तथा कारोबार जस्ता सुचकले आर्थिक गतिविधि कोभिडपूर्वको अवस्थामा फर्कन लागेको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले कात्तिक ७ देखि १७ गतेसम्म टेलिफोन अन्तरवार्ता मार्फत गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी तेस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण्ले आर्थिक गतिविधि पुरानै लयमा फर्किएको देखाएको हो । यसअघि राष्ट्र बैंकले २०७७ असार, २०७७ मंसिर र २०७८ वैशाखमा यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । यसअघिका अध्ययनमा सहभागी भएका उद्योगी व्यवसायीहरुसँग सम्पर्क गरेर नयाँ प्रतिवेदन सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार गत कात्तिकसम्ममा सबै आकारका उद्योगहरु कोभिड महामारी अघिको तुलनामा ८७.२ प्रतिशत संचालनमा आइसकेका छन् । यसमध्ये घरेलु उद्योग ८८.४ प्रतिशत, लघु उद्यम तथा साना खुद्रा व्यापार ८६ प्रतिशत, १५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका साना उद्योग ८०.८ प्रतिशत, १५ करोडदेखि ५० करोड रुपैयाँ स्थिर पुँजी भएका उद्योग ८१.४ प्रतिशत र ५० करोड रुपैयाँभन्दा बढीको स्थिर पुँजी भएका उद्योग व्यवसायहरु ९०.९ प्रतिशत पूर्ण क्षमतामा चलेका छन् ।

२०७७ असारमा पूर्ण क्षमतामा ४.१ प्रतिशत उद्योग व्यवसाय मात्रै पूर्ण क्षमतामा चलेका थिए भने २०७८ वैशाखमा ८१.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण क्षमतामा चलेका थिए । गत कात्तिकसम्ममा भने पूर्ण क्षमतामा चलेका उद्योग व्यवसायको संख्या ८७.२ प्रतिशत पुगेको छ ।

कोभिड महामारी सुरु हुनुअघिको उत्पादन तथा कारोबारको अवस्था भने अझै दयनीय नै देखिन्छ । अध्ययन प्रतिवेदनका अनुसार कोभिड महामारीअघिको तुलनामा अहिले उत्पादन तथा कारोबारको अवस्था ७४.७ प्रतिशत मात्रै छ । तर, २०७७ असारमा २८.८ प्रतिशत, २०७७ मंसिरमा ५०.५ प्रतिशत र २०७८ बैशाखमा ६१.४ प्रतिशत मात्रै रहेको कोभिडअघिको उत्पादन तथा कारोबारको अवस्थासँग तुलना गर्दा भने अहिलेको अवस्था सन्तोषजनक देखिन्छ ।

अबस्था सहज भएसँगै रोजगारीको अवस्थामा पनि सुधार आएको छ । गत कात्तिकको अध्ययन प्रतिवेदनले उद्योग व्यवसायहरुले प्रदान गर्ने रोजगारी कोभिड अघिको तुलनामा ९७.२ प्रतिशत पुगेको देखाएको छ । जबकि २०७७ असारमा ७७.५ प्रतिशत, २०७७ मंसिरमा ८७.५ प्रतिशत र २०७८ बैशाखमा ९३.८ प्रतिशतले रोजगारी पाएका थिए ।

कात्तिकसम्मको अवस्था अध्ययन गर्दा ठूला उद्योग व्यवसायले कर्मचारीको लागि गर्ने औसत तलब तथा ज्याला खर्च बढेको पाइएको छ । यसको अर्थ कामदार कर्मचारीको संख्या बढेको वा भएकै कामदार कर्मचारीको तलब तथा ज्याला कोभिड महामारी सुरु हुनु अघिको भन्दा पनि बढेको हुन सक्छ ।

अध्ययन प्रतिवेदनका अनुसार ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका उद्योग व्यवसायले तलब तथा ज्यालामा गर्ने औसत खर्च कोभिड महामारी अघिको तुलनामा १०१.८ प्रतिशतले बढेको छ । यस्तो खर्चको राष्ट्रिय औसत भने ९६.१ प्रतिशत छ । घरेलु उद्योग, लघु उद्यम तथा साना खुद्रा व्यापार, साना (१५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योग व्यवसाय) र १५ करोडदेखि ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका मझौला उद्योग व्यवसायले कोभिड अघिको तुलनामा ९४.४ देखि ९६.८ प्रतिशतसम्म खर्च गरेका कारण राष्ट्रिय औसत कम देखिएको हो ।

विश्व महामारीको रुपमा कोभिड–१९ संक्रमण नेपालमा पनि देखिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेको थियो । सोही कारण राष्ट्र बैंकले कोभिड महामारी अघिको अवस्था भनेर २०७६ फागुनको अवस्थासँग तुलना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.