ह्यात प्लेस सञ्चालनमा ल्याएको सिटी होटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई

  २०७८ मंसिर ७ गते १७:५५     विकासन्युज

काठमाडौं । सिटी होटलले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले जारी पुँजीको १० प्रतिशतका दरले अंकित मूल्य एक सय रुपैयाँ दरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

उक्त सेयर निष्काशन गर्नको लागि होटलले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंसिर ७ गते सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २०७८ कार्त्तिक १५ गतेबाट काठमाडौंको सोल्टिमोडमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका उद्यमी व्यापारीहरुको लगानी रहेको छ ।

१५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

अमेरिकामा रहेको ह्यात होटल कोअपरेसनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा विश्वस्तरीय सुविधाहरु सहित सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.