पर्यटन मन्त्रालयले पशुपतिमा योग शिविर गर्दै, दशाैं हजार मानिस सहभागी हुने विश्वास

  २०७८ मंसिर ४ गते १८:०८     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिने भएको छ ।

भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको मन्त्रालयले जनाएको छ । योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताए ।

उनले भने, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।”

मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा लिइएको छ । उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ ।

शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.