पुनर्बीमा बाहेक सबै प्रकारका कम्पनीको लाइसेन्स बाड्ने तयारीमा बीमा समिति

  २०७८ मंसिर ३ गते १२:५३     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पुनर्बीमा बाहेकका सबै प्रकारका कम्पनीको लाइसेन्स वितरण गर्ने तयारी थालेको छ ।

बीमा क्षेत्रमा कम्पनीहरुको संख्या बढी भयो भन्ने गुनासो आइरहेको समयमा समिति भने नयाँ कम्पनीको लाइसेन्स वितरणको तयारीमा जुटेको हो । समितिले पुनर्बीमा वाहेक जीवन, निर्जीवन र लघु बीमा कम्पनीको लाइसेन्स वितरणको गृहकार्य गरेको छ ।

अर्थमन्त्री जनार्दशन शर्माको निर्देशक अनुसार समितिले नयाँ कम्पनीको लागि लाइसेन्स वितरणको योजना बनाएको हो । समितिको संचालक समितिले पूर्णता नपाएको कारण मात्रै केही ढिलाई भएको स्रोतको भनाई छ ।

‘संचालक समितिले अझै पूर्णता पाएको छैन, संचालक समिति नै अपुरो भएको कारण केही समययता संचालक समितिको बैठक बस्न सकेको छैन, संचालक समितिले पूर्णता पाउने वित्तिकै समितिको बैठक बसेर नयाँ लाइसेन्सको लागि सार्वजनिक सुचना प्रकाशित गर्ने तयारी भइरहेको छ,’ समिति स्रोतले भन्यो ।

समितिमा अर्थमन्त्रालयको तर्फबाट पठाइने संचालकमा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई पठाइएको छ । यसअघि सापकोटाको स्थानमा आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक झक्कप्रसाद आचार्यलाई पठाइएको थियो । अर्थमन्त्री जनार्दन शर्माले आचार्यलाई विभागको महानिर्देशकबाट हटार शोभाकान्त पौडेललाई पठाएका थिए भने बीमा समितिमा भन्सार विभागका महानिर्देशक सापकोटालाई पठाइएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका किरणकुमार श्रेष्ठ पनि बीमा समितिको संचालक थिए । उनले पदबाट राजीनामा गरेका भएपनि अर्थमन्त्रालयले नयाँ नियुक्ति गरिसकेको छैन । यसैकारण समितिको संचालक समिति अझै पूर्ण भएको छैन ।

अहिले जीवन बीमा कम्पनी १९ वटा, निर्जीवन बीमा कम्पनी २० वटा र पुनर्बीमा कम्पनी २ वटा गरी ४१ वटा बीमा कम्पनी संचालनमा छन् । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेतृत्व संहालेपछि हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिइएको थियो । सो लाइसेन्स तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा वितरण गरिएको थियो । हिमालयनलाई लाइसेन्स दिने बेलामा पनि समितिले सार्वजनिक सुचना प्रकाशित गरी ‘प्रतिस्पर्धाको आधारमा योग्य’ ठहर्याएर लाइसेन्स दिएको थियो ।

अहिले पनि सार्वजनिक सुचना प्रकाशित गरी केही कम्पनीलाई लाइसेन्स वितरण गर्ने योजना समितिले बनाएको छ । यसअघिका अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकालमा पनि १० वटा जीवन र ३ वटा निर्जीवन गरी १३ वटा कम्पनीलाई लाइसेन्स दिइएको थियो ।

समितिले जीवन, निर्जीवन र लघु बीमाको लाइसेन्स बाड्ने तयारी गरे पनि कतिवटा कम्पनीको लागि लाइसेन्स वितरण गर्ने भन्ने यकिन भइसकेको छैन ।

सम्बन्धित समाचार

अर्थमन्त्रीको निर्देशनपछि लघु बीमाको लाइसेन्स वितरण गर्ने गृहकार्यमा बीमा समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.