कोरोना संक्रमितको उपचारमा पालिकाले एक करोड रुपैयाँ खर्च गरेको छ- अध्यक्ष खड्का

  २०७८ मंसिर २ गते १८:५१     विकासन्युज

गौरीशंकर गाउँपालिका बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा अवस्थित छ । यस गाउँपालिकाका अध्यक्ष हुन् सोयम बहादुर खड्का । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । कार्यकालको अन्तिम वर्ष आइपुग्दा उनले धेरै काम गरिसकेका छन् । हिजोको गौरीशंकर र आजको गौरीशंकरमा धेरै फरक भएको अध्यक्ष खड्का बत्ताउँछन् । यो अवधिमा सामाजिक, आर्थिक, शैक्षिक तथा पर्यटकीय क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । उनै अध्यक्ष खड्कासँग चार वर्षको अवधिमा पालिकाले गरेको उपलब्धि, आर्थिक विकासको रणनीति, त्यहाँ गरिएका विकास निर्माणका काम, सम्भावना, चुनौती लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सार :

नागरिकले सुखानुभूति गर्ने गरी तपाईंले यो चार वर्षमा के कस्ता काम गर्नुभयो ?

गाउँपालिकाले सन्तुलित विकासको अवधारण ल्याएको छ । एक क्षेत्रलाई नभई समग्र क्षेत्रमा परिवर्तन र विकासमा पालिका लागेको छ । स्थानीय सरकार भएको नाताले स्थानीय स्रोत साधनको परिचाल गर्दै, बेरोजगार युवालाई रोजगार दिँदै अनि औद्योगिक क्षेत्रहरू सञ्चालन गर्दै अघि बढेका छौं । शिक्षाको सवालमा यस क्षेत्रलाई आमूल परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढि महत्त्व पालिकाले दिएको छ । विद्यार्थीहरूलाई छात्रवृतिको व्यवस्था गरेका छौं । यसै गरी दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थाई दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । गाउँपालिकाले ‘समृद्ध गौरीशंकर गाउँपालिकाको लागि वातावरणिय सन्तुलन सहितको अभियान’ भन्ने नारा पनि तयार गरेको छ ।

यसै गरी स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेको छ । पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । केही स्वास्थ्य संस्थाको भवनहरू निर्माणाधीन अवस्थामा छन् । नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याएका छौं । शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गर्नेलाई ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएका छौं । जनतालाई हामीले दिनु पर्ने सेवा छिटो भन्दा छिटो दिने प्रयत्न गरेका छौं ।

यसका साथै कृषि क्षेत्रतर्फ पनि धेरै काम भएको छ । यहाँका धेरै मानिसहरू खेती किसानी गर्छन् । सकभर जमिनलाई बाँझो नराख्न हामीले आग्रह गरेका छौं । हामीले फलफूल, तरकारीको पकेट क्षेत्र छुट्याएका छौं । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यवस्था मिलाएका छौं । ‘एक गाउँ एक उत्पादन’ भन्ने कार्यक्रम अगाडि बढाएका छौं । यसै गरी हामीले पालिकामा कृषि, पशुपक्षी, माछाको विकास र गुणस्तर शिक्षा, स्वास्थ्य, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, समावेशी, विकास, सुशासन, न्यायिक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

हालसम्म कति ऐनकानुन बनाउनुभयो ?

पालिकाको आवश्यकता अनुसार ऐन–कानुनको निर्माण गरेका छौं । हालसम्म पालिकामा १७ ओटा कानुन निर्माण भएको छ । गाउँपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानुन बनाएका छौं । २४ ओटा कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकताअनुसार बनाउँदै जाने कुरा पनि हो ।

युवा स्वरोजगार गाउँपालिकाले कसरी गरिरहेको छ ?

हाम्रो पालिकाकोतर्फ बाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । गाउँपालिकामा भएका विकास निर्माणको काममा पनि युवाहरूलाई जोडेका छौं । युवालाई उद्यमशील विकास लागि युवाहरूको इच्छा अनुसारको तालिम दिनुपर्छ भनेर हामी लागिपरेका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं ।

कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नुभयो कि भएन ?

जिल्लाका ९ ओटा स्थानीय तह मध्ये हाम्रो पालिका पनि एक हो । हाम्रो पालिका ७ ओटा गाविस मिलेर बनेको छ । हामी निर्वाचित भएर आउँदा पालिका शून्यमा थियो । हामीले सोचेको जस्तो काम गर्न विभिन्न खालका बाधा, अवरोधहरू ब्यहोर्नुपर्यो । निर्वाचित हुँदासम्म कानुनलाई टेकेर काम गर्ने हामीसँग कानुन थिएन । संघीयताको पहिलो पहिचान, दक्ष कर्मचारीको अभाव, प्रशासनिक भवन नभएको कारण सुरुवाती दिनमा धेरै समस्याहरू आए । पालिकासम्म पुग्ने सडक, वडा कार्यालय भवनहरू व्यवस्थित थिएनन् । भूकम्पले गर्दा धेरै नागरिकका घरहरू भत्किएका थिए । धेरै कुराहरू हामी सँगसँगै नयाँ संरचनाको सुरु गर्न बाध्य भयौं । हाल यी कुराहरूमा बिस्तारै सुधार हुँदै आएको छ । तर, हाम्रो लक्ष्य र सोच अनुसारको काम हुन सकेको छैन ।

निर्वाचित भए पछि नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै पालिकाको विकास निर्माणको कामलाई अगाडि बढ्यौं । पालिकाका प्रशासनिक भवन तथा केही वडा भवनहरू पनि निर्माण भएका छन् । काम गर्ने समयमा २ वर्ष कोभिडको समना गर्न तर्फ लाग्नु पर्यौ भने यस महामारीबाट पालिका पनि अछुतो रहन सकेन । भौगोलिक विकटताको कारण पनि धेरै समस्याहरू आए । सकेजति समस्याको समाधान गरी पालिकाको विकास निर्माणको कामलाई गति दियौं । यो ५ वर्ष कार्यकाल भित्र धेरै काम गर्ने उद्देश्यका तथा लक्ष्यका साथ अगाडि बढेका थियौं । तर, सोचेको जस्तो काम गर्ने नसकेको गाउँपालिकाले महशुस गरेको छ ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

हामी निर्वाचित भएर आएको पनि चार वर्ष भइसकेको छ । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ७० प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । त्यो अनुसार काम पनि भएको छ । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । हाम्रो पालिका भित्र भएका काम उत्कृष्ट नै छ भन्ने लाग्छ ।

अझैपनि पालिकाको केही वडामा सडक पुग्न बाँकी नै छ, कहिलेसम्म प्रत्येक वडामा सडक सञ्जाल पुग्छ ?

हो, वडा नं. ९ गौरिशंखरमा चाहिँ सडक सञ्जाल पुगेको छैन । उक्त वडामा भौगोलिक विकटताका कारण सडक सञ्जाल पुर्याउन नसकेका हौं । त्यस वडामा पनि सडक सञ्जाल पुर्याउने लक्ष्यमा छौं । भएका सडकहरूको गाउँपालिकाले तर्फबाट सकेसम्म सडक स्तारोन्नती गरेका छौं । कालोपत्रे गर्न गाउँपालिकाको बजेटले भ्याउँदैन ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?

कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि पहिलो र दोस्रो लहरमा एक करोड रुपैयाँ जति खर्च भएको छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

यहाँका नागरिकहरूको चाहना विभिन्न किसिमका छन् । जनताको चाहना, अपेक्षा तथा संघीयताको मर्म अनुसार नै विकासको गति अगाडि बढाएका छौं । जनआकांक्षा पुरा गर्न जनप्रतिनिधिले प्रयास गर्दागर्दै पनि परिणाम अपेक्षित रूपमा प्राप्त हुन सकिरहेको छैन । यस्तो परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहिनत गर्नुपर्छ । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्छु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्नेछौं । त्यसैले जनता र सरकार एक ठाउँमा भएर विकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.