ननलाइफ इन्स्योरेन्सले २ अर्बले बढाए बीमा कोषको आकार, जनरलको ९२% ले बढ्दा अन्यको कति ?

  २०७८ मंसिर २ गते १७:४५     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका निर्जीवन बीमा कम्पनी (ननलाइफ इन्स्योरेन्स) ले बीमा कोषको आकार बढाएका छन् । सञ्चालित २० कम्पनीमध्ये १८ वटा निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामै बीमा कोषको आकार बढाएर १३ अर्ब ९६ करोड रुपैयाँ पुर्याएका छन् ।

जुन गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३१ करोड रुपैयाँ अर्थात १९.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा कम्पनीहरुको बीमा कोषको रकम ११ अर्ब ६४ करोड रुपैयाँ थियो ।

कम्पनीहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषको आकार ठूलो छ । कम्पनीको उक्त कोषको आकार ८.१४ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, एक अर्ब माथि बीमा कोष हुनेमा शिखरसहित ५ कम्पनी रहेका छन् । गत वर्ष अर्ब क्लबमा शिखर मात्रै थियो भने यो वर्ष थप ४ वटा कम्पनी रहेका छन् । नेको, सगरमाथा, एनएलजी र सिद्धार्थ इन्स्योरेन्सले यो वर्ष बीमा कोषको रकम बढाएर सजिलै अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । जसमध्ये सगरमाथा इन्स्योरेन्सको वृद्धिदर भने उच्च छ । सगरमाथाले गत वर्षको तुलनामा ६४ प्रतिशतले बीमा कोष बढाउन सफल भएको छ ।

समग्रमा कोषको आकार वृद्धिदरको हिसाबले जनरल इन्स्योरेन्सको वृद्धिदर उच्च छ । जनरलले गत वर्षको तुलनामा ९२.०८ प्रतिशतले बीमा कोष बढाएर १२ करोड ८ लाख रुपैयाँ पुर्याएको छ । जुन गत वर्ष ६ करोड २९ लाख मात्रै थियो ।

कसको कति ?

त्यस्तै, अन्य कम्पनीको तुलनामा सानिमा जनरलको बीमा कोषमा सबैभन्दा थोरै रकम छ । तर, कम्पनीको कोषको आकार भने गत वर्षको भन्दा बढेको छ । गत वर्ष ६ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको बीमा कोष अहिले ६४.१९ प्रतिशतले बढेर १० करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा प्रुडेन्सियल इन्स्योरेन्सको भने बीमा कोषको आकार घटेको छ । गत वर्ष ५५ करोड ७२ लाख रुपैयाँको कोष रहेको कम्पनीले चालु आवमा सामान्य ०.३८ प्रतिशतले घटेर ५५ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।

उता नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्सले भने हालसम्म चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.