पैसा नभएपछि बैंकका शाखालाई केन्द्रको निर्देशनः ऋणको फाइल अगाडि नबढाउनु

  २०७८ मंसिर २ गते १२:००     सन्ताेष राेकाया

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना शाखाहरुलाई कर्जाको फाइल अगाडि नबढाउन निर्देशन दिएका छन् । बैंकहरुमा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) को सीमा नाघेर कर्जा दिनै नसक्ने अवस्था नभएपछि अधिकांश बैंकहरुले शाखालाई कर्जाको फाइल अगाडि नबढाउन निर्देशन दिएका हुन् ।

अहिले एक दजर्नभन्दा वाणिज्य बैंकहरुले सीडी रेसियोको सीमा नाघेका छन् । नेपाल राष्ट्र बैंकले कर्जा-पूँजी-निक्षेप (सीसीडी रेसियो)को व्यवस्था खारेज गरेर सीडी रेसियोको व्यवस्था कायम गरेपछि बैंकहरुमा तरलताको चाप परेको बैंकहरुको बुझाई छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ८५ प्रतिशतको सीसीडी रेसियोको व्यवस्थालाई खारेज गरेर ९० प्रतिशतको सीडी रेसियोको व्यवस्था लागु गरेको थियो ।

अहिले बैंक तथा वित्तीय संस्थाहरु तरलताको अभाव भोगिरहेका छन् । तरलताको अभाव भएपछि अहिले अधिकांश बैंकहरु ग्राहकलाई कर्जा दिनै नसक्ने अवस्थामा पुगेको बैंकर्सहरुको भनाई छ ।

९० प्रतिशतको सीडी रेसियोको सीमा नाघेका अधिकांश बैंकहरुले अहिले आफ्ना शाखाहरुलाई कर्जा नदिन र बैंकमा कर्जाका लागि आएका फाइलहरु अगाडि नबढाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारीले राष्ट्रिय वाणिज्य बैंक पनि कर्जा दिन नसक्ने अवस्थामा रहेको बताए । उनले ग्राहकलाई ऋण दिन नसक्ने अवस्था भएपछि शाखाहरुलाई पत्र नै पठाएर कर्जा नदिन र कर्जाका फाइल अगाडि नबढाउन निर्देशन गरेको पनि बताए ।

‘शाखाबाट कर्जा नदिनु, कर्जाको प्रकृति हेरेर मात्रै हामी केन्द्रबाट नै ऋण स्वीकृत गर्छौं भनेका छौं, धेरै शाखाहरु हुन्छन्, कन्ट्रोल हुँदैन, निक्षेप घटिरहेको छ, सीडी रेसियोले सीमा नाघिरहेको छ, यो अवस्थामा बच्नु पर्छ भनेर शाखाबाट कर्जा नदिनु भनेका हौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार अहिले राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ८८ प्रतिशत छ । ‘निक्षेप घट्ने र कर्जा बढ्ने भएपछि ९० प्रतिशत नाघ्न समय लाग्दैन त्यसैले पनि हामीले शाखाबाट कर्जा नदिनु भनेका हौं,’ उनले भने ।

यस्तै, सरकारी लगानी रहेको नेपाल बैंकको सीडी रेसियो पनि ८९.६५ रहेको बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए । उनका अनुसार नेपाल बैंकले पनि नयाँ कर्जा प्रवाह रोकेको छ । ‘हामीले पहिले नै स्वीकृत गरेका कर्जाहरुको मात्रै प्रक्रिया अगाडि बढाइरहेका छौं, अहिले नयाँ र ठूला कर्जाका प्रस्तावहरु रोकेका छौं, साना कर्जा दिइरहेका छौं, ठूलो कर्पोरेट कर्जा रोकेको अवस्था छ,’ उनले भने ।

९० प्रतिशतको सीमा नाघेका अधिकांश बैंकहरुले भने अहिले कर्जा प्रवाह रोकेका छन् भने ९० पुग्नै लागेका अधिकांश बैंकहरु सर्तक भएर शाखाहरुलाई निर्देशन दिइरहेका छन् । अहिले अधिकांश बैंकहरुले ग्राहकसँग सम्बन्ध नबिग्रियोस् भनेर कर्जा दिन्नौं भन्न नसकेर फाइलहरु रोकेर बसेका छन् ।

बैंकर्सका अनुसार अहिले बैंकहरुले कर्जाको प्रक्रियामा ढिलाई पनि गरिरहेका छन् । ‘पैसा छैन दिन्नौं भन्यो भने पछि सम्बन्ध बिग्रने चिन्ता, त्यसैले पनि फाइल लिनु पर्ने बाध्यता छ, कर्जा पाउन भने अहिले गाह्रो नै छ,’ एक बैंकका सीईओले भने ।

यस्तै, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले पनि अहिले आफुहरुले कर्जाको प्रकृति हेरेर ऋण दिइरहेको बताए । उनका अनुसार बैंकको सीडी रेसियो ८८.७ प्रतिशत भएपनि धेरै ख्याल गरेर कर्जा दिनुपर्ने अवस्था छ ।

‘अहिले हामीले चित्त बुझ्दो, सेलेक्टिभ कर्जा मात्रै दिइरहेका छौं, सीडी रेसियो नछोएको भएपनि सर्तक हुनुपर्ने बेला भएकोले पनि अहिले धेरै सोच विचार गरेर कर्जा लिनु पर्ने अवस्था छ,’ उनले भने ।

बुधबार मात्रै नेपाल बैंकर्स संघले सीडी रेसियोमा केही लचकता ल्याउन राष्ट्र बैंकलाई अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर उनीहरुले हाल बैंकिङ क्षेत्रमा तरलताको अभाव भएकोले सीडी रेसियोको व्यवस्थालाई पुनरावलोकन गर्न अनुरोध गरेका थिए ।

राष्ट्र बैंकले यस साताभित्रै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दैछ । सोही समीक्षा मार्फत सीडी रेसियोको व्यवस्था पुनरावलोकन हुन सक्ने अपेक्षा बैंकहरुले राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.